प्रचण्ड निवासमा कोरोना छिरेपछिको खुमलटार 

प्रचण्ड निवासमा कोरोना छिरेपछिको खुमलटार 

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को निवास खुमलटार यतिवेला सुनसान छ।

कारण हो प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना संक्रमण पुष्टि हुनु।

खुमलटारको बाहिरी गेटमा खटिएका सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि उनको निवास सील गरिएको छ।

प्रचण्ड निवास वरपरको सडकमा त्यति चहलपहल छैन। केही पसलहरू खुलेका भए पनि मानिसको आवागमन भइरहेको छैन।

स्थानीयका अनुसार अहिले उक्त सडकभएर गुड्ने कालो सीसा भएका गाडिहरू गुड्न छोडेका छन्। उच्च सुरक्षासतर्कता अपनाइएको छ।

बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो।

परिक्षणका क्रममा ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियो। 

सुरक्षाकर्मीमा कोरोना देखिए पनि प्रचण्ड परिवारका कुनै सदस्यलाई संक्रमण पाइएको छैन। प्रचण्डलगायत उनका परिवारको पनि पिसिआर परीक्षण गरिएको छ।

प्रचण्ड निवाससँगै जोडिएको छ ध्रुव हायुको झलक दाजुभाई फ्रेस मिट। उनको होटेल पनि सँगै छ।

दिउँसोसम्म उनलाई प्रचण्ड निवासमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको थाहा थिएन।

तर, दिउँसो थाहा पाएका उनी यतिबेला त्रसित छन्। 'विश्व महामारीको रुपमा फैलिएको कोरोना आफ्नो पसलसँगै जोडिएको नेकपा अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा देखिएको छ। यतिवेला जतिसक्दो सावधानी अपनाउनुपर्छ', उनले भने।

आफ्नो होटेलमा चिनेजानेका नजिकका मानिसहरूलाई मात्र प्रवेश दिएको उनको भनाई छ।

उनको पसल नजिकै छ दुर्गाबहादुर हायुको हायु कस्मेटिक सप। अगाडि सटरमा पसल र त्यस्कै पछाडि बस्ने उनीहरूको सपमा कहिले काँही प्रहरीहरू आउथे।

त्यसैले उनीहरू पनि त्रसित छन्। स्थानीयहरूले कोरोना परीक्षण गरेका छैनन्। तर, उच्च सावधानी अपनाइएको उनले बताए।

'परीवार र ससाना बालबच्चा भएकाले डर लागिरहेको छ। पसल नखोलौ कसरी पेट पाल्ने? खोलौ जोखिम आगनैमा पुगेजस्तो भयो', उनले भने।

सील गरिएपछिको प्रचन्ड निवास वरपरको दृश्य आयोमेलले क्यामेरामा कैद गरेको छ। सुरक्षाकर्मीले घरलाई चारैतिरबाट सुरक्षा दिइरहेका छन्। यस्तै वरपर पनि उच्च सतर्कता अपनाइएको छ।


Leave a Reply

Your email address will not be published.