कञ्चनपुर र बैतडीमा पालिकाअनुसार सेवा

कञ्चनपुर र बैतडीमा पालिकाअनुसार सेवा

दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि कञ्चनपुर र बैतडीका जिल्ला प्रशासन कार्यालयले स्थानीय तहगत रूपमा सेवा दिन सुरु गरेका छन्। 

कार्यालयमा सेवाग्राहीको भीड बढ्न नदिनका लागि प्रशासनले तहगत रूपमा सेवा दिन सुरु गरेका छन्। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका, पुर्नवास नगरपालिका र बेलौरी नगरपालिकाअन्तर्गतमा सेवाग्राहीलाई आइतबार र सोमबार सेवा प्रदान गर्ने तालिका सार्वजनिक गरेको छ। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार कञ्चनपुरमा मंगलबार र बुधबार कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने छ। 

बिहीबार र शुक्रबार वेदकोट नगरपालिका, महाकाली नगरपालिका र बेलडाँडी नगरपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिने कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए।

‘हरेक सरकारी कार्यालयमा सेवाग्राहीको भीड बढ्दा कर्मचारीलाई संक्रमणको जोखिम बढेको छ,’ सहायक प्रजिअ उपाध्यायले भने, ‘सेवाग्राही र कर्मचारीलाई संक्रमणको जोखिम हुन नदिन पालिकाअनुसार दैनिक सेवा दिने योजना निर्माण गरेका छौं।’ 

यसैगरी बैतडीमा पनि कोरोना संक्रमण बढेपछि पालिकाअनुसार सेवा प्रदान गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले बुधबारदेखि पालिकाअनुसार सेवा दिन थालेको छ।

जिल्लास्तरीय कोभिड कमान्ड पोस्टको बैठकले गरेको निर्णयअनुसार बुधबारदेखि पालिकाअनुसार सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। 

जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिने सेवाहरू आइतबार, सोमबार र मंगलबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका नागरिकलाई प्रदान गरिनेछ। बुधबार, बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने सहायक प्रजिअ नेगीले जानकारी दिए। 

पुर्चौडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालयबाट नियमित रूपमा सेवा प्रदान गरिने बताइएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गर्ने सेवालाई व्यवस्थित बनाउन र कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले  नेपाली नागरिकताको प्रमाणपत्र वितरण, राहदानी वितरणलगायतका सेवा दिने गरेको छ। ‘कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न हामीले यस्तो निर्णय गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘कोरोना भाइरसबाट बच्न भीडभाड नहोस् भनेर हामीले पालिकाअनुसार सेवा दिन थालेका छौं।’ 

बैतडीका ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ३ सयजना घर फर्किसकेका छन् भने १९ जना विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा छन्।


Leave a Reply

Your email address will not be published.