उपत्यकालाई कोरोना महामारीबाट जोगाउने दुई विकल्प

उपत्यकालाई कोरोना महामारीबाट जोगाउने दुई विकल्प

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई संक्रमण पुष्टिसँगै कोरोना भाइरस सिंहदरबारभित्र प्रवेश गरेको छ। उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ आवश्यक परेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार राजधानीले कोरोना भाइरस जन्माउन थालिसकेको छ। यो भयावह हुने आँकलन महाशाखाको छ।

सुरूमा बाहिरबाट राजधानी भित्रिएको कोरोना अब काठमाडौंका घर-घरबाट फैलिन थालिसकेको महाशाखाको भनाइ छ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार राजधानीका १० परिवारमा कोरोना भाइरस संक्रमण भइसकेको छ। राजधानीकै पाँच वटा निजी तथा सरकारी संस्थामा कोरोना छिरिसकेको छ।

‘ती १० परिवार हुँदै समुदायस्तरमा कोरोना संक्रमण फैलिने जोखिम उच्च छ,’ उनले भने, ‘तर, यसको योजना सरकारसँग छैन।’  

राजधानीमा बिहीबार मात्रै ८७ जनामा संक्रमण पुष्टि भएको छ। 

खुकुलो लकडाउन, लकडाउनपछिको बेरोकटोक आवागमन राजधानीलाई कोरोनाग्रस्त बनाउने माध्यम बनेका छन्। वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘यही अवस्था जारी रहने हो भने राजधानीमा थेग्न नसकिने भयावह सिर्जना हुन्छ।’

उनका अनुसार यो भयावह रोक्न तत्कालै दुई विकल्प आवश्यक देखिन्छन्।

पहिलो : काठमाडौंमा लकडाउन गर्ने।

‘लकडाउन’ औपचारिकतामा मात्रै सीमित हुनु हुँदैन। किनभने लकडाउन उल्लंघनको संख्या उतिकै बढी छ। यो विगतको लकडाउनबाट देखिइसकेको छ।

अनावश्यक मानिसहरूलाई प्रशासनले प्रवेश पास दिने, प्रवेश पास बनाएकाहरूले दुरुपयोग गरी व्यक्तिगत लाभदायी कार्यमा प्रयोग गर्ने गरेका छन्। कडाइको मामलामा गृह प्रशासन एकदमै ‘फेलर’ भइसकेको अवस्था छ। विद्यमान यो अवस्थाबाट पार पाउन कडाइको विकल्प छैन।

दोस्रो : राजधानी प्रवेशमा नाका कडाइ।

अहिले गृह मन्त्रालयले नाका कडाइ गरेको भए पनि मानिसहरू काठमाडौं भित्रिने क्रम रोकिएको छैन। अति आवश्यकबाहेकका मान्छेलाई मात्र प्रवेश दिइएको नभएर पास हेरेर मान्छे छोड्ने गरिएको छ।

यतिसम्मकी भक्तपुरमा त चेकिङ अगाडि मानिस झार्ने र पाँच सय मिटरसम्म हिँडाएर अगाडिबाट चढाउने गरिएको महाशाखाकै डाक्टरहरू बताउँछन्। 

नाका कडाइको काममा सुरक्षाकर्मीलाई अग्रसर गराउन सकिन्छ। किनभने स्वास्थ्यकर्मीले भनेको टेर्ने समुदाय एकदमै न्यून छ। काठमाडौंमा अहिले मानिसहरू तेब्बर भाडा तिरेर प्रवेश गरिरहेका छन्, जो कुरा थाहा पाएर पनि गृहले कडाइ गर्न सकेको छैन।

नेताको मान्छे, जनप्रतिनिधि, कोही सांसद-मन्त्रीका मानिसहरू सिफारिस गराएर पास लिनेमा सबैभन्दा बढी छन्।

प्रवेशलगत्तै पिसिआर जाँच गर्ने र काठमाडौंको जनसमुदायलाई व्यापक निगरानी गर्ने काम तुरुन्त गर्नुपर्ने कोइरालाले बताए। ‘यति काम तत्कालै गर्न सकिएन भने राजधानीमा एक घर एक संक्रमितको अवस्था आउन सक्छ,’ कोइरालाले भने।  

कोइरालाका अनुसार लकडाउन आंशिक खुलेसँगै तराईबाट मानिसहरू काठमाडौं आइपुगेका छन्। बाटोमा फलफूल बेच्नेदेखि कवाही संकलन गर्ने मान्छे आइसकेका छन्। उनीहरूमा कोरोना देखिइसकेको छ।

योसँगै उपत्यका प्रवेश गर्नेहरुलाई तीन तहको निगरानीमा झनै कडा गर्नुपर्छ। पहिलो त नाकामै सुरक्षाकर्मीको निगरानी। दोस्रो स्वास्थ्यकर्मीको निगरानी र तेस्रो स्थानीय सरकार र समुदायको निगरानी। 

बुधबारकै घटना हेरौं।

एक जना कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा कवाडी संकलन गर्ने व्यक्ति जोडिए। जो नेपाली बुझ्दैनथे। उनलाई खोजी गर्दै जाँदा स्वास्थ्यकर्मीले काठमाडौंकै एक ठाउँमा फेला पारे।

‘उनलाई बुझाउने स्थिति थिएन, बुझाउन सकिने पनि थिएन,’ कोइरालाले भने, ‘यो काम प्रहरीलाई लगाउन सके प्रभावकारी हुन्छ।’

काठमाडौंमा देखिएको कोरोना संक्रमणको करिब चालीस प्रतिशत तराई तथा भारतबाट आएको संख्या छ। ‘लकडाउनपछि यत्रो संख्यामा कोरोना संक्रमित आएको किन थाहा भएन? के कसरी हामीले प्रभावकारी रुपमा चेकिङ र परीक्षण गर्न सक्यौं त?,’ कोइरालाले भने।

नेताकै निवासमा कोरोना संक्रमण देखिन थालेको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिएको छ। उनी बढी ‘मुभमेन्ट’ गर्ने नेतामा पर्छन्। उनले समयानुकूल यो घुमफिरलाई ‘सीमित’ गर्नुपर्ने देखिएको छ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार राजधानीमा कोरोना विस्तारै फैलिँदो छ। अहिले त आइसोलेसन वार्डहरू पनि ‘प्याक’ भइसकेका छन्। नयाँ आइसोलेसन वार्ड बनाउनुपर्ने आवश्यकता देखिइसकेको छ।

‘प्रहरीका उतैका बिरामीले भरिएका छन्, हामीले बनाएकामा पुरानै बिरामी छन्, अब थपिएका संक्रमितलाई कहाँ लगेर राख्ने समस्या देखिएको छ,’ पाण्डेले भने।

जटिल बन्दैछ कन्ट्याक्ट ट्रेसिङ

कोइरालाका अनुसार कन्ट्याक्ट ट्रेसिङ सजिलो छैन। अहिले स्थानीय तहलाई कन्ट्याक्ट ट्रेसिङको काम दिइए पनि महाशाखामा आइपुग्ने नमूनाको ‘ट्रेसिङ’ सजिलो छैन।

बुधबार संक्रमितहरूमध्ये १६ जना मानिसहरू अहिलेसम्म पूरै सम्पर्कमा आएका छैनन्। ८ जना प्रत्यक्ष सम्पर्कमा आए। तीन जनाले फोनसम्म उठाए। तर, अन्य अझै सम्पर्कमा छैन। कसैको मोबाइल अफ छ। कसैको फोन नै नलागिरहेको अवस्था छ।

यसले के देखाउँछ भने संक्रमण भइसकेपछि पनि मान्छे केही दिन बेपत्ता छ। यो बीचमा उसले कहाँ-कति जनालाई भेटिसकेको छ, आँकलन गर्न कठिन छ।

अहिले मानिसहरू कोरोना संक्रमण भएपछि डराउने गरेका छन्। घरबेटीले निकालिदिएला कि वा समाजले छि:छि: गर्ला कि भनेर मानिसहरू लोकलाज पालिरहेका छन्। यसका कारण उनीहरू सुटुक्क अस्पताल जान चाहन्छन्, त्यसको उपयुक्त मौका खोजिरहेका हुन्छन्।

कन्ट्याक्ट ट्रेसिङमा सबैभन्दा बढी प्रयोग हुने मोबाइल फोन हो। जसको ‘लोकेसन’ चिकित्सकलाई थाहा हुँदैन। ‘यो काम प्रहरीलाई दिने हो भने छिनको छिनमा मान्छे समात्न सकिन्छ, तर यतापट्टि सरकारको ध्यान गएको छैन,’ कोइराला भन्छन्।

यो काममा दूरसञ्चारलाई प्रयोग गर्न सके कन्ट्याक्ट ट्रेसिङको काम केही सहज हुने उनको भनाइ छ।

विभाग, मन्त्री र प्रधानमन्त्रीले रोकेर, भनेर राजधानीको कोरोना संक्रमण टर्ने अवस्था छैन। यसका लागि ‘फिल्ड’मै सुरक्षा र स्वास्थ्यकर्मीहरू उतारेर कडाइ गर्नुपर्ने अवस्था रहेको उनले बताए। ‘कहाँबाट कसरी कोरोना संक्रमण फैलिइरहेको छ, संख्या हेरेर धारणा बनाएर हुन्छ? के कसरी आएको छ हेर्नुपरेन?,’ कोइराला जंगिए, ‘मलाई भन्नुहोस्- म प्रधानमन्त्रीलाई कोरोना कसरी फैलिइरहेको छ टेबुलमा डाटा राखेर देखाउन सक्छु।’

महाशाखामा देशभरिका ३३ वटा ल्याबले नमूनाहरू पठाइरहेका हुन्छन्। तिनीहरूको ‘भेरिफिकेसन’सँगै महाशाखामै परीक्षण गराउनेहरूको रिपोर्ट निकालिने गरिएको छ।

‘कतिपय नमूनामा नम्बर, नाम फरक हुन्छन्, कतिपयले झुक्याएर ठेगानै अर्को लेखाउँछन्,’ कोइरालाले भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा जम्मा दुई जना खटिएका छौं, यो जनशक्ति अपुग छ।’

काठमाडौंमा तत्कालै यी दुई विकल्प नखोजिए हिजोका व्यवस्थापनले छेउ नभ्याउने कोइरालाले बताए।


Leave a Reply

Your email address will not be published.