कोरोना बढ्दै गएपछि सरकारले भन्यो- भारतबाट श्रमिक नल्याउनू

कोरोना बढ्दै गएपछि सरकारले भन्यो- भारतबाट श्रमिक नल्याउनू

कोरोना संक्रमित रहेका वीरगन्जस्थित जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मेवनाथ शर्माको साउन १५ मा नारायणी अस्थायी कोभिड–१९ अस्पतालमा उपचार गर्दागर्दै ज्यान गयो। साउन ४ मा उनीसहित जगदम्बामा कार्यरत चार कर्मचारीमा कोरोना पुष्टि भएपछि उद्योग नै सिल गरिएको थियो। 

यो उद्योग वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा छ। लकडाउनका बेला भारत फर्किएका श्रमिक पुनः काममा आउँदा कोरोना संक्रमण भएको अनुमान छ।

करिडोरमा ५ सयहाराहारी उद्योग सञ्चालनमा छन्। तर, कोरोना संक्रमण बढ्न थालेपछि उद्योगी त्रसित छन्। 
वीरगन्जमा निषेधाज्ञा लागू भएको १२ दिन पुगेको छ, अझै कति दिन लम्बिन्छ, यकिन छैन। 

अहिले बारा र पर्सा प्रशासनसँगै उद्योगीहरूले मौखिक सहमति गरेका छन्– बाहिरबाट थप श्रमिक नल्याउने, काममा खटिएकालाई बाहिर जान नदिने, गाँसबासको व्यवस्था भित्रै गर्ने। यही आधारमा उद्योग चलिरहेका छन्।

तर, यो निर्णय त्यतिखेर लिइएको हो जब पर्सासँगै बारा पनि कोरोनाको ‘हटस्पट’ बनिसकेको थियो।

कोरोना संक्रमण बढेपछि वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्जसहित औद्योगिक सहर प्रभावित छन्।

सरकारले गत असारमा लकडाउन खुकुलो गर्दै पिसिआर विधिबाट कोरोना परीक्षण गराएर कामदार ल्याउन दिने अनुमति दिएसँगै धमाधम भारतबाट श्रमिक भित्रिए। 

त्यसअघि श्रमिकलाई अनिवार्य रूपमा निर्माण वा उद्योग स्थलमै राख्नुपर्ने भनिए पनि सरकार लचिलो बनेको थियो। 

यसरी भारतसहित विदेशबाट आउने श्रमिकबाट कोरोना संक्रमण जोखिम बढेको निष्कर्ष निकाल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले स्थानीय प्रशासनको स्वीकृति लिएरमात्रै ल्याउन आग्रह गरेको थियो। 

संघका अध्यक्ष खिमबहादुर हमालले नेपाली उद्योग प्रतिष्ठानमा अहिलेको अवस्थामा विदेशबाट कामदार ल्याउँदा स्थानीय तहमार्फत अनिवार्य क्वारेनटाइनमा राख्न, आवश्यक भएमा पिसिआर जाँच गराउन र विदेशी नागरिक (विशेष गरी भारतीय नागरिक) कामदार भए अनिवार्य प्रशासनको स्वीकृति लिन आग्रह गरे।  

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह नाकामै पिसिआर परीक्षणको व्यवस्था हुनुपर्ने बताउँछन्। 

उद्योग, व्यवसाय क्षेत्रमात्र होइन सरकारी लगानीमा सञ्चालित परियोजनाले पनि धमाधम भारतीय श्रमिक भित्र्याए। तीमध्ये कतिपय बिनापरीक्षण आएको सरकारी अधिकारी स्वीकार्छन्।

‘त्यतिखेर उद्योग, व्यवसाय नै ठप्प भएपछि चलाउन दियौं, केही सहज भएपछि भारतबाट पनि श्रमिक आएका हुन्,’ उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आयोमेलसँग भने, ‘परीक्षण र क्वारेन्टाइन त अनिवार्य नै गरिएको थियो।’ 

भारतीय मजदुर ल्याउन रोक

काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न सहरमा कोरोना संक्रमण बढेपछि सरकारले भारतबाट श्रमिक ल्याउन रोक लगाएको छ।

उद्योग राज्यमन्त्री दुगडका अनुसार भारतमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको र त्यहाँबाट श्रमिक ल्याउँदा झनै जोखिम बढ्ने भएकाले साउन मसान्तसम्म नल्याउन निर्देशन दिइएको छ।

‘यसअघि अनिवार्य रूपमा पिसिआर परीक्षण गरेर श्रमिक ल्याउन दिएका थियौं। तर, केहीले लुकिछिपी पनि ल्याएको खबर बाहिर आयो,’ दुगडले भने, ‘अहिलेलाई बाहिर (भारतसहित) बाट श्रमिक नल्याउन भनिसकेका छौं।’ 

यो निर्देशन साउन मसान्तसम्मका लागि भएको र त्यसपछि सरकारले थप निर्णय गर्ने उनले बताए।

सरकारले गत चैत ११ देखिको लकडाउन साउन ६ मध्यरातिबाट अन्त्य गरे पनि अन्तर्राष्ट्रिय सीमा नाकामा आवतजावतमा लगाएको रोक हटाएको छैन। 

पछिल्लोपटक बसेको मन्त्रिपरिषद बैठकले सीमा नाकामा थप कडाइ गर्ने, सशस्त्र प्रहरीका सीमा सुरक्षा बल थप्ने निर्णय गरेको छ।
राज्यमन्त्री दुगड अब उद्योग क्षेत्र ठप्प पार्न सकिने अवस्था नरहेको बताउँछन्। 

‘चैत ११ गते जसरी उद्योग क्षेत्र ठप्प पारेर अघि बढ्ने हो भने उद्योग क्षेत्र टाट पल्टिन्छ, धेरै श्रमिकले रोजगारी गुमाउँछन्,’ उनले भने, ‘अब कोरोना संक्रमण फैलन नदिने गरी कसरी उद्योग क्षेत्र चलाउन सकिन्छ भनेर मापदण्ड बनाइरहेका छौं।’ 

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालमा लकडाउन अवधिमा ६० प्रतिशत उद्योग बन्द थिए भने

७४ प्रतिशतले कारोबार घटेको थियो। उद्योग, व्यवसाय क्षेत्रमा कार्यरत एक चौथाइले त रोजगारी नै गुमाएका थिए।

अहिले बाहिरबाट श्रमिक नल्याउन निर्देशन दिइसकेको अवस्थामा अब उद्योग क्षेत्रमै बस्ने गरी उत्पादन गर्नुपर्ने देखिएको उनले बताए। 

‘उत्पादन, ढुवानी नरोक्ने गरी श्रमिकलाई उद्योग क्षेत्रमा राख्ने र बाहिरि सम्पर्क नगराउने गरी मापदण्ड बनाउने योजना छ,’ उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह श्रमिकलाई उद्योगमै क्वारेन्टाइनमा राखेर उद्योग चलाऊ भनेर सरकारले पन्छिन नमिल्ने बताउँछन्। 

‘उद्योग क्षेत्र पनि कोरोनाको उच्च जोखिममा छ, हामी सावधानी अपनाइरहेका छौं। अझ कडाइ गर्न तयार छौं। तर, सबै श्रमिकलाई उद्योगमा क्वारेन्टाइनमा राखेर चलाऊ भन्ने हो भने सरकारले कर्मचारी कार्यालयमै राखेर किन चलाउन नसकेको?’ 

बरू सरकारले भीडभाड हुने क्षेत्र बन्द गरेर अघि बढ्नुपर्ने र उद्योग क्षेत्रमा कार्यरतको पिसिआर परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने उनी बताउँछन्।


Leave a Reply

Your email address will not be published.