भारतमा संक्रमितको संख्या २० लाख नाघ्यो, ४१ हजार बढीको मृत्यु
भारतमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ। बितेको चौबिस घण्टामा भारतले संक्रमणको संख्यामा अमेरिका र ब्राजिललाई समेत पछि पारेको छ।
बितेको चौबिस घन्टामा भारतमा थप ६२ हजार १ सय ७० जना नयाँ संक्रमित थपिएका छन् भने ८ सय ९९ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४१ हजार ६ सय ३८ पुगेको छ भने २० लाख २५ हजार ४ सय ९ जना संक्रमित छन्।
मृत्युको आंकडामा कोरोना प्रभावति भारत पाँचौ देश हो।
सबैभन्दा धेरै भारतको महाराष्ट्र प्रभावित भइरहेको छ। ४१ हजार ६ सय ३८ मृतकमध्य यहाँका करिब १६ हजार ४ सय ७६ छन्। त्यस्तै तामिलनाडु, दिल्ली, कर्नाटक, गुजरात, उत्तरप्रदेश, पश्चिम बङ्गाललगायतका राज्य धेरै प्रभावित छन्।
विश्वभर चौबिस घन्टामा २ लाख ७२ हजार २ सय ५२ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्। ६ हजार २ सय ६० जनाको मृत्यु भएको छ।
एक दिनमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी मृत्यु ब्राजिलमा भएको छ भने सबैभन्दा बढी संक्रमित भारतमा भेटिएका हुन्।
अमेरिकामा बितेको चौबिस घन्टामा १ हजार २ सय २ जनाको ज्यान गएको छ भने ५८ हजार ६ सय ४ जना नयाँ संक्रमित थपिएका छन्।
अमेरिकामा हादसम्म संक्रमणबाट १ लाख ६२ हजार ८ सय ३ जनाको ज्यान गएको छ भने ५० लाख ३२ हजार १ सय ७२ जनामा संक्रमण देखिएको छ।
त्यस्तै ब्राजिलमा कोरोनाबाट एक दिनमा १ हजार २ सय २६ जनाको ज्यान गएको छ भने ५४ हजार ८ सय १ जनामा नयाँ संक्रमित थपिएका छन्।
ब्राजिलमा शुक्रबार बिहानसम्म ९८ हजार ६ सय ४४ जनाको संक्रमणबाट ज्यान गइसकेको छ। २९ लाख १७ हजार ५ सय ६२ जनामा संक्रमण रहेको पुष्टि भएको छ।
संक्रमणदरको तुलनामा मृत्युदर धेरै बढिरहेको मेक्सिकोमा एक दिनमा ८ सय २९ जनाको मृत्यु भएको छ भने ६ हजार १ सउ ३९ जना नयाँ संक्रमित थपिएका छन्।
मेक्सिकोमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ६ सय ९८ पुगेको छ भने ४ लाख ५६ हजार १ सय जना संक्रमित रहेका छन्।
विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ लाख १६ हजार ५ सय ४७ जना पुगेको छ भने १ करोढ ९२ लाख ३८ हजार१४ जना संक्रमित रहेका छन्।
संक्रमण पुष्टि भएकामध्ये १ करोड २३ लाख ४६ हजार ८९ जान निको भएका छन्। संक्रमितमध्ये ६५ हजार १ सय ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।