प्लाज्माथेरापी रामवाण होइन, अरू धेरै काम गर्न बाँकी छ  

प्लाज्माथेरापी रामवाण होइन, अरू धेरै काम गर्न बाँकी छ  

नेपालमा पहिलोपटक कोरोना बिरामीलाई प्लाज्मा थेरापी बिधिबाट गरिएको उपचार सफल भएको छ। त्यसपछि कोरोना संक्रमण भएर एकदमै सिकिस्त भएका बिरामी बचाउनका लागि यो विधिले एकप्रकारको आशाको सञ्चार गरेको छ। छिमेकी भारत र विश्वका अन्य देशहरूमा पनि यो विधि प्रयोगमा छ। 
आयोमेलका रेणु त्वानाबासुले त्रिभुवन शिक्षण अस्पतालका उप-प्राध्यापक डा. हेमराज पनेरुसँग कुराकानी गरेकी छिन्–

कोभिड-१९ को उपचारमा नेपालमा पनि प्लाज्माथेरापी सफल भएपछि अहिले यो विषयमा खुबै चर्चा भइरहेको छ। आम सर्वसाधारणले यसलाई कसरी बुझ्ने?

सबै पत्रपत्रिका, अनलाइन समाचारहरूमा प्लाज्माथेरापी भनेको गजब रहेछ, यसले त एकदम सिकिस्त बिरामीलाई पनि निको बनाइदिने रहेछ। यो त सबै रोगमा प्रयोग गर्दा हुने हो कि? भनेर आइरहेका छन्। तर यसलाई अहिल्यै यो रूपमा नहेर्दा राम्रो होला।  

विज्ञानको परिभाषामा रोगबाट निको भएका बिरामीहरूसँग रगतको तरल पदार्थ, रगतको प्लाज्मामा तैरिरहने प्रतिरक्षा प्रणालीद्वारा स्थायी एन्टिबडीहरू हुन्छन्।

डब्लुएचओको आपतकालीन कार्यक्रमका प्रमुख माइक रायनले भनेका छन् कि कोभिडका बिरामीको सम्भावित उपचारको रूपमा कन्भलेसेन्ट प्लाज्मा एउटा धेरै महत्त्वपूर्ण क्षेत्र हो। यो सही समयमा दिनुपर्छ। किनकि यसले प्रणालीमा भाइरसलाई नियन्त्रणमा राख्छ र यो नयाँ बिरामीको प्रतिरोधात्मक प्रणालीमा आवश्यक पर्ने समयमा मात्र दिनुपर्छ। यो सधै सफल हुन्छ भन्ने पनि होइन।

प्लाज्माथेरापीका बारेमा अहिले पनि रिसर्च भइरहेको छ। यसले जहिल्यै फाइदा मात्र गर्छ भन्ने छैन। यसको बेफाइदा पनि गर्छ। त्यसैले यो नै सबै रोगको रोगथाम हो भन्न मिल्दैन। यो त हामीले बिरामीको अवस्था एकदम नाजुक भएपछि गर्ने हो। पहिलो प्लाज्माथेरापी पनि बिरामी एकदम सिकिस्त भएपछि हेरौं न त भनेर प्रयोग गरेका थियौं। प्रयोग गरेपछि सफल भयो, जुन राम्रो पक्ष हो।

यसले संक्रमितको शरीरमा कसरी उपचारको काम गर्छ त?

यसले सास फेर्न गाह्रो भएका संक्रमितलाई पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। हामीले गरेको केसको सन्दर्भमा भन्नुपर्दा सबै मेडिसिन पनि मिलाएर चलाएकाले प्लाज्माथेरापी सफल भएको हो। रातरात प्लाज्माथेरापीले बिरामीलाई निको बनाएको चाहिँ होइन। यो एकदमै गलत सोचाइ र समाचार गइराखेको छ जनसमुदायमा। एकजनामा मात्र सफल भएको हो। प्लाज्माथेरापीले काम गर्छ कि गर्दैन भनेर रिसर्च भइरहेको छ। टिममा डा. जनक कोइराला र नेपाल हेल्थ रिसर्चले सपोर्ट गरेको छ। यो नेपालमा रिसर्च भइरहेको छ।

यो सबैलाई दिन पनि मिल्दैन। यसको आफ्नै किसिमको मापदण्ड छ। त्यो मापदण्डमा परेमा मात्र गर्न सकिने हुन्छ। 

अहिले अन्य अस्पताल र बिरामीमा पनि यो उपचार प्रयोग भइरहेको छ?

अहिलेसम्म चाहिँ शिक्षण अस्पतालमा मात्र गरेका छौं। हामीले एकजना संक्रमितमा प्लाज्माथेरापी टेस्ट गरेका थियौं। उहाँलाई सास फेर्न एकदम गाह्रो भएपछि यो प्रविधि अपनाएका थियौं, जुन सफल भयो।

प्लाज्माथेरापी उपत्यकाबाहिरको अस्पतालहरूमा गर्न सकिने अवस्था छ ?

पक्कै पनि छ। नेपालको १२ वटा अस्पतालमा यो गर्न सम्भव छ भनेर स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। अरू बिरामीमा पनि गर्नैपर्ने अवस्था भएमा गर्न सकिन्छ। यसका लागि कुनै नयाँ ठूलो प्रविधि चाहिँदैन। वर्षौंदेखि चलिआएकोे नेपाल रेडक्रस सोसाइटीमा रहेको सामानबाट नै गर्न सकिन्छ। 

कोरोना संक्रमित भएर निको भएको कति दिनपछि प्लाज्माथेरापीलाई रगत दिन मिल्छ? 

कोरोना लागेर पिसिआरमा पोजेटिभ देखिएको र निको भएको दुई सातापछि रगत दिन सकिन्छ। त्यही रगतलाई प्लाज्मा गरी कोरोना संक्रमित बिरामीलाई इन्जेक्ट गरिने हो।

तपाईंहरू चौबिसै घण्टा बस्नुहुन्छ? आइसियूमा अहिले कति जना चिकित्सक संलग्न हुनुहुन्छ?

किनकि हाम्रो आइसियूको पनि एउटा समूह छ। जसमा पाँचजना छौं। डिएम क्रिटिकल केयर मेडिसिनमा चारजना, एमडी एनेस्थियोलोजी चारजना छन्। आइसियूमा एकजनाले गर्छु भनेर पनि सकिने होइन। त्यसैले हामीले समय र बिरामीको अवस्था हेरेर आफ्नो काम जिम्मेवारीपूर्वक गरिरहेका छौं।

बिरामीहरूलाई कोरोना भनेर मात्र हुँदैन। यसमा सबै डाक्टरहरू लागिपरेका छन्। कोरोना भए–नभएको दुवै आइसियूका बिरामीलाई हामीले हेर्ने गरेका छौं। कोरोनाका कारणले हाम्रो काम अलि बढेको मात्र हो। हामीले सबै आइसियूका बिरामीलाई हेरिराखेका छौं।

यो उपचार पद्धतिमा नर्सिङ जनशक्ति भने कत्ति चाहिन्छ?

डाक्टर-नर्स, सहकर्मी सबैले राम्रै सहयोग गरिरहेका छन्। उनीहरू पनि आफ्नो काममा खटेर लागिपरेका छन्। कोरोनाको जटिल परिस्थितिमा पनि कुनै गुनासोबिना नै काम भइरहेको छ। एउटा समूहमा ६ देखि ७ जना नर्स सहभागी हुनुहुन्छ।

आइसियूको क्षमता बढाउन सरकारले के कस्ता कार्य गर्नुपर्छ?

यसका लागि त रातारात गर्न सकिँदैन। दीर्घकालीन योजना बनाएको हुनुपर्छ। आइसियूको डाक्टर चाहियो भनेर पाइँदैन। त्यसका लागि पढ्ने वातावरण हुनुपर्छ। यहाँ यसको सुविधा हुनपर्यो। अहिले पनि नेपालमा दक्ष जनशक्ति अभाव नै छ। 

कोरोनाका कारणले अस्पतालहरूमा अरु बिरामीचाहिँ बिरामी नै होइनजस्तो गरेको सुनिन्छ। यसमा तपाईं के भन्नुहुन्छ?

त्योचाहिँ पक्कै हो। अहिले कोरोनाका कारणले अरू बिरामीलाई अलि कम महत्त्व दिएको हो कि जस्तो लाग्छ। अब हाम्रै अस्पतालमा पनि आइसियूमा कोरोनाका लागि जम्मा नौवटा बेड छुट्याएको छ। सबै भरिभराउ छ। अरू बिरामीहरू चेकअपका लागि आउने बेलामा पहिला कोरोना टेस्ट गरिन्छ। त्यसपछि मात्र आइसियूमा भर्ना लिइन्छ। त्यसैकारण धेरै बिरामी लाइनमा बस्नुपर्ने अवस्था छ।

प्लाज्माथेरापीभन्दा पनि बिरामीलाई समयमै उपचार दिने, अक्सिनज दिने, भेन्टिलेटरमा राख्ने सके झन् उपयुक्त हुन्थ्यो। सामान भएर मात्र भएन, चलाउन जान्ने दक्ष जनशक्ति हुनुप¥यो। हामीकहाँ सामान छ, चलाउन जान्ने जनशक्ति हुँदैन। समानका साथसाथै अनुभवी जनशक्ति भएको खण्डमा प्लाज्माथेरापी आवश्यक पर्दैन। छोटो अवधिमा सक्ने तालिम दिन सकिन्छ। इच्छा भएका व्यक्तिको एउटा समूह बनाएर तालिम दिनुपर्ने हो, अहिलेको अवस्थामा सरकारले। तर गरिरहेको छैन। अनलाइन तालिम पनि दिन सकिन्छ। त्यो पनि भइरहेको छैन। 

यस्तो भएको खण्डमा चाहिँ केही गर्न सकिन्छ कि जस्तो लाग्छ। प्लाज्माथेरापीभन्दा महत्त्वपूर्ण कुरा यी नै हुन्।

कोरोना संक्रमित रोक्नका लागि के गर्नुपर्ने हो?

यसका लागि त पहिलो उपाय भनेको ट्रान्सफर्मेसनलाई रोक्ने नै हो। यो बन्द नगरेसम्म कम हुन सक्ला जस्तो लाग्दैन। अहिले जति पनि कोरोना संक्रमित छन्, ती सबै बाहिरबाट आएका हुन्। भीडमा नजाने, दूरी कायम गरी मास्क लगाएर कुरा गर्ने गर्नुपर्छ। अनावश्यक भीडभाड नगर्ने र सकेसम्म ग्रुप मिटिङ नगर्ने यी कुरामा नै ध्यान दिनुपर्ने हो। 

तर यी कुराहरू त भइराखेका छन् नेपालमा?

पक्कै पनि छैन। मान्छेहरू अहिले पनि भीडभाड गरेर हिँडिरहेका छन्। मास्क प्रयोग गरेको देखिँदैन। सरसफाईमा ध्यान दिएजस्तो लाग्दैन। जनचेतनामूलक काम पनि नभएको होइन, भइरहेकै छ। मान्छेहरूमा टेरिराखेका छैनन्, जुन दुःखद पक्ष हो। त्यो त अरूका लागि होइन। आफ्नो स्वास्थ्यका लागि नै हो भन्ने बुझ्नुपर्छ। मलाईचाहिँ महत्त्वपूर्णभन्दा पनि सामान्य कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ। यो प्लाज्मा भनेको केही होइन। यो कुनै रामवाण होइन। भविष्यमा केही गर्न सक्यो भने त्यो अर्कै कुरा हो।

कोभिड-१९ को तयारीका लागि सरकारको पहल के छ?

अब सरकारले रेमडेसिभिर भन्ने मेडिसिन ल्याउने कुरा भएको छ। योचाहिँ हाम्रो नेपालमा छैन। विदेशबाट नै मगाउनुपर्छ। यसले पनि कोभिड–१९लाई केही कम गर्न सकिने अवस्था छ। कम समयमा निको पार्ने काम भइरहेको छ। एक न्युक्लियोटाइड एनालग प्रोडक्ट हो। २०२० मा मे १ मा युएस एफडिएले अस्पतालमा भर्ना भएका वयस्क र बच्चाहरूमा गम्भीर कोभिड–१९का लागि एजेन्टको आपतकालीन प्रयोगको अनुमति दिनका लागि रेमडेसिभिर जारी गरेको थियो।  

नेपालमा आइसियूका विशेषज्ञहरू नै पर्याप्त छैनन्। आइसियूको विशेषज्ञ हुनलाई एमबिबिएस सकाएपछि पनि तीनवर्ष एमडी र त्यसपछि तीनवर्ष डिएम क्रिटिकल एक्पर्ट केयर मेडिसिन भन्ने कोर्स गर्नुपर्छ। आइसियूको क्रिटिकल केयर मेडिसिन भनेर नेपालको कुनै पनि अस्पतालमा छैन। अबको ५ वर्षमा कसरी विशेषज्ञको बढाउन सकिन्छ भन्ने योजना गर्नुपर्छ।

र, याे पनि

प्लाज्माथेरापी सुरुआतमै आशलाग्दो, टिचिङका संक्रमितमा ७० प्रतिशत सुधार  


Leave a Reply

Your email address will not be published.