लेबनानमा विष्फाेट भएकाे एमोनियम नाइट्रेट के हो, कति खतरनाक हुन्छ?
आजभन्दा ६ वर्षअघि लेबनानको राजधानी बेरुतको समुद्रि तटमा करिब तीन हजार टन एमोनियम जफत गरिएको थियो।
जफत गरिएको अमोनियम ६ वर्षदेखि बन्दरगाह नजिकैको गोदाममा राखिएको थियो।
मंगलबार बेरुतको त्यही गोदाममा विष्फोट हुँदा करिब १ सय ४० जनाको ज्यान गयो भने ४ हजार मानिस घाइते भए।
लेबनानका राष्ट्रपति माइकल इयोनले ट्वीट गर्दै गोदामा रहेको २ हजार ७ सय ५० टन विष्फोटक नाइट्रेट असुरक्षित तरिकाले राखिएको आफूहरूलाई स्वीकार्य नभएको र विष्फोटबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
यस्तोमा सबैले एमोनियम नाइट्रेटबारे थाहा पाउन जरुरी ठानेका छन्।
के हो त एमोनियम नाइट्रेट
एमोनियम नाइट्रेट सेता रंगको हुन्छ, जसको उत्पादन औद्योगिक क्षेत्रबाट हुन्छ। यसको सबैभन्दा बढी प्रयोग नाइट्रोजनको स्रोतको रुपमा हुन्छ।
यसका साथै एमोनियमको प्रयोग खनिज उद्योगका लागि विष्फोट गर्ने काममा पनि प्रयोग हुन्छ। युनिर्भसिटी कलेज अफ लन्डनका केमेस्ट्रि प्रोफेसर आन्द्रे सेलाले अमोनियम एमोनियम र नाइट्रिक एसिडको प्रतिक्रियाबाट उत्पादन गरिने र एक प्रकारको सिन्थेटिक चिज भएकाले सजिलैसँग जमिनमा नपाइने बताएका छन्।
एमोनियम नाइट्रेटको उत्पादन संसारभर नै हुन्छ। हुन्छ र यसको मूल्य पनि सस्तो हुन्छ। सस्तो भए पनि यसको भण्डारण भने चुनौतीपूर्ण हुन्छ।
विगतमा पनि एमोनियम नाइट्रेटको कारण ठूला विष्फोटहरू भइसकेका छन्।
प्रोफेसर आन्द्रे सेलाकाअनुसार एमोनियम नाइट्रेट भण्डार गर्दा कुनै सुरक्षा खतरा नहुने भए पनि ठूलो परिमाण र लामो समयसम्म राख्दा यो खराब हुन थाल्छ।
‘एमोनियम लामो समयसम्म भण्डारण गर्दा जमिनको पानी सोस्न थाल्छ र चट्टान जस्तै कडा बन्छ, यसरी पानी सोसेर कडा बन्दा आगोको सम्पर्कमा आए रसायनिक प्रतिक्रिया उत्पन्न हुन थाल्छ र ठूलो नोक्सान हुन सक्छ’, सेलाले भनेका छन्।
एमोनियम नाइट्रेट विष्फोट हुँदा नाइटोजन अक्साइड र एमोनिया जस्तो घातक धुँवा निस्किन्छ। यसले मान्छेको स्वास्थ्यका साथै वातावरणलाईसमेत प्रदूषित गर्छ।
विष्फोट भएको ठाउँमा हावा नचलेको वरपर रहेको सर्वसाधारणको स्वास्थ्यमा यसले गम्भीर असर गर्ने सेलाले जनाएका छन्। विष्फोट गर्न प्रयोग गरिने यो रसायनिक पदार्थ सेनाले विष्फोट गर्नका लागि प्रयोग गर्ने गर्छन्।
सन् १९९५ मा अमेरिकाको ओक्लाहामा सहरमा भएको एमोनियम नाइट्रेट विष्फोट भएको थियो। उक्त विष्फोटमा परि १ सय ६८ जनाको मृत्यु भएको थियो भने कतिपय भवनहरु ध्वस्त भएका थिए।
त्यस्तै टेक्सासको ग्यालवेस्टेन सहरमा २ हजार टन एमोनियम नाइट्रेट राखिएको जहाजमा विष्फोट हुदा ५ सय ८१ जनाको ज्यान गएको थियो।
सन् १९२१ मा जर्मनीको ओप्पाउँ सहरमा ४ हजार ५ सय टन एमोनियम नाइट्रेट राखेको ठाउँमा विष्फोट हुँदा ५ सय जनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए।
सन् २०१५ मा चीनको तियानजिन बन्दरगाहमा एमोनियम नाइट्रेट विष्फोट हुदा १ सय ७३ जनाले ज्यान गुमाएका थिए।
बिबिसीबाट