‘चार गुणा बढी’ भाडा असुल्दै यातायात व्यवसायी

‘चार गुणा बढी’ भाडा असुल्दै यातायात व्यवसायी

साउन २१ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का हरि जोशीलाई धनगढी जानुपर्ने भयो। 

गुलरियाबाट अटोमा अत्तरिया पुगेका उनले अत्तरियाबाट धनगढी आउन माइक्रो हायस रोजे। जोशीका अनुसार हायसमा उनी र एकजना नेपाल प्रहरीमा कार्यरत भएको बताउने युवा मात्रै बसेका थिए। 

दुवैजनाले भाडाबारे बुझ्दा चालकले चारगुणा बढी भाडा तिर्नुपर्ने सुनाए। तत्कालै धनगढी पुग्नुपर्ने बाध्यता भएपछि दुवैजनाले जनही १ सय ६० तिरे।

‘प्रहरीलाई खबर गरौं भने अर्को लफडा हुन्थ्यो,’ जोशीले सुनाए, ‘त्यसो गर्दा समयमै धनगढी पुग्न नसकिने र आफ्नो महत्त्वपूर्ण काम गुम्ने देखिएपछि हामीले चालकले भनेजति नै भाडा दिएर धनगढी पुग्यौं।’

‘हायस’मै बसेका प्रहरीले समेत लफडामा नपरौं भन्दै चारगुणा बढी भाडा तिरेर धनगढी आएको बताए।  

अत्तरियाबाट दुईजना पाउनेबित्तिकै हिँडेको हायसले बाटोमा अन्य यात्रु पनि थपेको बताउँदै जोशीले भने, ‘सबै यात्रुबाट चारगुणा बढी भाडा असुले।’

सरकारले लकडाउनमा घाटा बेहोरेका व्यवसायीलाई राहतस्वरुप सार्वजनिक यातायातमा तोकेको भाडा दरभन्दा ५० प्रतिशत बढी भाडा असुली गर्न पाइने व्यवस्था गरेकोमा यातायात व्यवसायीले भने चार गुणा बढी भाडा असुलिरहेको पाइएको छ।

सुरुमै बार्गेनिङ गर्दै यातायात व्यवसायीले तोकेको सरकारी भाडाभन्दा चार गुणा बढी भाडा असुल्दै यात्रु ठगिरहेका छन्। अत्तरियाबाट धनगढी आउन तोकिएको भाडादरअनुसार ३० रुपैयाँसम्म भाडा उठाउन पाइन्छ।

सरकारले पछिल्लो पटक ५० प्रतिशत बढी भाडा असुली गर्न पाइने भनेपछि व्यवसायीले ५० प्रतिशत थप भाडा असुली गरे पनि धनगढी–अत्तरियाको एकतर्फी भाडा ६० रुपैयाँसम्म हुन आउँछ। तर व्यवसायीले एक यात्रुबाट एकतर्फी भाडा नै १ सय ६० रुपैयाँसम्म लिने गरेका छन्। 

धनगढीबाट अत्तरिया जान बोराडाँडीबाट हायस चढेका कृष्णपुरा नगरपालिका–२ कै गुलरियाका नन्दलाल जोशीले अचाक्ली रूपमा भाडा लिइरहेको बताए। ‘सरकारले सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढाएको सुनेको थिएँ,’ उनले प्रश्न गरे, ‘तर यातायात व्यावसायीले चार गुणा बढी उठाएका छन्। प्रहरीले किन चेकजाँच गर्दैन?’

यी दुई प्रतिनिधि घटनामात्रै हुन्। पछिल्लो समय यातायात व्यवसायीले यात्रुबाट तोकिएभन्दा बढी चार गुणासम्म भाडा असुल्ने गरेका छन्। 

यातायात व्यवसायीले आफैं जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर लकडाउनमा फसेका यात्रुलाई चार गुणा बढी भाडा असुली गर्ने गरेको पाइएको छ। 

धनगढीबाट कझाङको भाडा ९ सय रहेकोमा अहिले चार हजारसम्म लाग्ने गरेको छ। यसैगरी दार्चुलाको भाडा पनि ८ सय ५० हुँदा अहिले ४ हजारदेखि ४५ सयसम्म लाग्ने गरेको पाइएको छ। बाजुराको भाडा १ हजार रहेकामा ४ हजारसम्म लिने गरेको यात्राहरू बताउँछन्।

यस विषयमा प्रहरीले गुनासो नै नआएको बताउँदा यातायात व्यवसायी भने नियमअनुसार नै भाडा लिएको दाबी गर्छन्। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले कसैले पनि तोकेभन्दा बढी भाडा असुली नगरेको बताए। 

‘हामीले जिल्लाभित्र सञ्चालन भइरहेका सुन्दर सुदूरपश्चिम यातायात प्रालिअन्तर्गतका सवारीलाई भाडादर पनि उपलब्ध गराएका छौं,’ अध्यक्ष सापकोटाले भने, ‘सबैलाई सोहीअनुसार भाडा उठाउन र यात्रु राख्न आग्रह पनि गरेका छौं, कसैले अटेरी गरे कारबाही गरिनेछ।’ 
मालिका यातायात प्रालिका अध्यक्ष डिबी खलौलाले यातायात क्षेत्रमा कसैले बदमासी गरे कारवाही गरिने चेतावनी दिए।

‘हामीले सरकारी मापदण्डमा रहेर यात्रु ओसार्न र भाडा उठाउन निर्देशन नै दिएका छौं,’ उनले भने, ‘त्यति गर्दागर्दै पनि कसैले नियम विपरीत भाडा असुलेको पाइएमा कारबाही गरिनेछ।’ 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीले तोकेभन्दा बढी भाडा असुली गरेको जानकारी पाएपछि तीन व्यवसायीलाई कारबाही गरिएको भए पनि अन्य जानकारी नभएको बताए। 

‘हामीलाई बढी भाडा असुली गरेको भन्ने जानकरी आएपछि तीन जनालाई कारवाही गरिएको छ,’ ट्राफिक प्रमुख ठकुराठीले भने, ‘धेरै यात्रुले बढी भाडा तिरेर पनि जानकारी गराउँदैनन्, कसैले उजरी नगरी कारबाही गर्ने अधिकार हामीसँग छैन।’

उनले सरकारले तोकेकोभन्दा बढी भाडा असुलेका यात्रुलाई बाटोमा पर्ने ट्राफिक प्रहरीलाई वा सिधै १०३ मा फोन गरी गाडी नम्बरसहित खुलाइदिन यात्रुलाई आग्रहसमेत गरे।

‘कसैले गाडी नम्बर नै उल्लेख नगरी बढी भाडा लगेको भन्ने सूचना दिने गरेका छन्,’ ठकुराठीले भने, ‘त्यसो गर्दा हामीले गाडी पत्ता लगाउन सक्दैनौं र दोषी उम्किन सक्दछ, त्यसैले उजुरी गर्दा सवारी नम्बरसहित उल्लेख गरिदिन अनुरोध छ।’ 

तर कुनै सवारी चालकले सार्वजनिक यातायात साधनमा क्षत्रताअनुसार नै यात्रु राखेको छ भने त्यस्ता यातायातका क्षेत्रमा लकडाउनअघिकै भाडा लाग्ने हुँदा यात्रुलाई त्यसबारे पनि सजग रहन उनले आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published.