घर बनाउन नयाँ नियम, अब भारतकाे ‘संहिता’ चाहिन्न

घर बनाउन नयाँ नियम, अब भारतकाे ‘संहिता’ चाहिन्न

नेपालमा साना ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्ड समावेश गरेर राष्ट्रिय भवन संहितालाई अध्यावधिक गरिएको छ।

नेपालमा ‘राष्ट्रिय भवन संहिता १०५/१९९४’ कार्यान्वयनमा रहेकोमा मन्त्रिपरिषद्को बैठकले ‘अध्यावधिक राष्ट्रिय भवन संहिता १०५/२०२०’ लाई स्वीकृत गरेको हो।

नेपालमा २०७२ सालमा गएको भूकम्प, विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न मुलुकमा प्रचलित भवन संहिता एवं यस सम्बन्धमा गरिएका विभिन्न नयाँ अनुसन्धान, प्रविधि र ज्ञानको विकासका आधारमा भूकम्प प्रतिरोधी सुरक्षित भवन निर्माण गर्न भवन संहिता अध्यावधिक गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ।

अध्यावधिक राष्ट्रिय भवन संहिता मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कतिपय अवस्थामा भारतीय संहितामा भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। सहरी विकास मन्त्रालय सहरी विकास आवास भवन महाशाखाका प्रमुख सहसचिव नवराज प्याकुरेलले अध्यावधिक गरिएको भवन संहिताका आधारमा सबै खालका भवनको डिजाइन गर्न सकिने बताए।

‘सानादेखि गगनचुम्बी भवनलाई भूकम्प प्रतिरोधी बनाउनका लागि गर्नुपर्ने इन्जिनियरिङ डिजाइनका लागि आवश्यक प्रक्रिया र मापदण्ड प्रदान गर्नु हो,’ संहिताको सारसंक्षेपमा भनिएको छ, ‘यस संहिताले स्थापित इन्जिनियरिङ मान्यता र सिद्धान्तअनुरुप भूकम्प प्रतिरोधी भवनको विश्लेषण र डिजाइन विधिलाई मार्गदर्शन गर्न मद्दत गर्छ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का स्ट्रक्चरल इन्जिनियर विपिनकुमार गौतमका अनुसार अध्यावधिक संहितामा नेपाललगायत यस क्षेत्र वरिपरिको भूकम्पीय जोखिम विश्लेषण गरी त्यसका आधारमा भूकम्पीय जोखिम जोनिङ नक्सा तयार गरी र सोही आधारमा ठाउँअनुसारको फरक फरक मानक राखिएको छ।

यो संहिता प्रयोग गरी जस्तोसुकै प्रविधि र सामग्री प्रयोग गरी बनाइने संरचनालाई भूकम्प प्रतिरोधी बनाउन सकिनेछ।

संरचनाको प्रयोग र महत्त्वका आधारमा सुरक्षित बनाउनका लागि फरक फरक मानक पनि दिइएको छ। संहिताले नयाँ प्रविधि र विधिलाई प्रयोग गर्नका लागि बाटो खुला गरिएको छ।

अध्यावधिक संहिताको अनुसूचीमा स्टिल र ढलानवाला घरलाई भूकम्प प्रतिरोधी बनाउन चाहिने विस्तृत विवरण समावेश गरिएको छ।

विज्ञहरूले अध्यावधिक गरिएको राष्ट्रिय भवन संहिताले नेपालमा सबै खालका संरचनालाई भूकम्प प्रतिरोधी बनाउने गरी डिजाइन गर्न सम्भव हुने बताएका छन्।

स्टक्चरल इन्जिनियर एवं प्राध्यापक डा‌. प्रेमनाथ मास्केले पहिलेको संहितामा रहेका प्रावधान पूर्ण नरहेको भन्दै अध्यावधिक गरिएको राष्ट्रिय भवन संहितामा धेरै पक्षहरू समावेश गरिएकाले अहिलेको आवश्यकता सम्बोधन गर्न सकिने बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नयाँ भवन संहिताबाट भूकम्प प्रतिरोधी संरचनाको निर्माण गर्न र सुरक्षित नेपालको अभियान साकार पार्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।  

०७२ वैशाखमा गएका भूकम्प र परकम्पहरूका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १०५ लाई परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो।

प्राधिकरणमातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले यस सम्बन्धमा काम गरेको थियो। यसका लागि स्टक्चरल इन्जिनियर, जिओलोजिष्ट, जिओटेक्निकल इन्जिनियर, सिस्मोलोजिष्टलगायतका विज्ञ रहेको विभिन्न उपसमिति गठन गरी काम गरिएको थियो।

संहिता परिमार्जनका लागि सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशकको नेतृत्वमा सात सदस्यीय कार्य समिति गठन गरिएको थियो। त्यसपछि  सहरी विकास मन्त्रालयको भवन महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति गठन भएको थियो।

सहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको बैठकले संहितालाई पारित गरी मन्त्रिपरिषद्को बैठकमा पठाएकोमा साउन १९ गतेको मन्त्रिपरिषद बैठकले संहिता स्वीकृत गरेको हो।


Leave a Reply

Your email address will not be published.