बुद्धबाट पोखरा जान १९ सय, भदौ १ बाट उडान

बुद्धबाट पोखरा जान १९ सय, भदौ १ बाट उडान

निजी वायुसेवा कम्पनी बुद्ध एयरले आगामी भदौ १ बाट नियमित यात्रुवाहक उडान सुचारु गर्न भाडा दर सार्वजनिक गरेको छ।

कोरोना भाइरस महामारीका कारण मुलुक चार महिना ‘लकडाउन’ भएपछि साउन ६ मध्यरातबाट खुले पनि स्थिति अझै सामान्य भएको छैन। यस्तो विषम परिस्थितिमा पनि सहज र सरल हवाई यात्रा गराउने उद्देश्यले सस्तो भाडा दर तोकिएको बुद्धले जनाएको छ।

बुद्धका अनुसार काठमाडौंबाट विराटनगर जान एकतर्फी प्रतियात्रु ३ हजार, भैरहवा २ हजार ७ सय, नेपालगन्ज ४ हजार २ सय, पोखरा १ हजार ९ सय, भद्रपुर ३ हजार ४ सय, जनकपुर २ हजार ७ सय र धनगढी जान ५ हजार ४ सय रुपैयाँ तोकिएको छ।

‘हामी यात्रु सुरक्षाका लागि सबैखाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर नियमित उडान गर्न तयार छौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले शुक्रबार आयोमेलसँग भने, ‘यसमा सबैको सहयोग प्राप्त हुने विश्वास छ।’ 

हाल आन्तरिक वायु सेवा बन्द गरिएको अवस्थामा सर्वसाधारणले यात्राका लागि तरकारी बोक्ने भ्यान, बिरामी बोक्ने एम्बुलेन्स, ट्रक, बसमा कोचिएरमात्रै होइन, दसौं हजार रुपैयाँ खर्च गरिरहेको बुद्धले जनाएको छ। 

घण्टाभरमै यात्रा गर्न सकिने भए पनि केही दिन लगाएर यात्रा गरिरहेका कारण यात्रुले दुःख पाइरहेका भन्दै बुद्धले त्यस्ता यात्रुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हनन गर्नु भनेको छ। 

‘त्यसकारण यात्रालाई सहज बनाउँदै कोभिड–१९ को चेकजाँचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो,’ बुद्धले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ, ‘संक्रमित व्यक्तिसँग असुरक्षित तरिकाले घन्टौं यात्रा गर्दा संक्रमण फैलिनु स्वाभाविक हो। पछिल्लो समय काठमाडौं उपत्यका तथा देशभित्र दिनहुँ संक्रमित बढ्नुमा यो नै मुख्य कारण हो।’

बुद्धका अनुसार कोरोना भाइरसविरुद्ध सुरक्षा निर्देशिका बनाइ पूर्वाभ्यास भइरहेको छ। प्रत्यके उडानअघि जहाज, ब्यागेज ट्रली, कार्यस्थल संक्रमणरहित सरसफाइ, कर्मचारीलाई सुरक्षा तालिम तथा पिपिई प्रदान गरिन्छ। 

‘संक्रमणरहित हवाई यात्राका लागि प्रतिबद्ध भएका कारण हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहोरो तापक्रम चेकजाँच, ह्यान्ड सेनिटाइजर तथा फेससिल्ड प्रयोग अनिवार्य बनाइएको छ। विदेशमा पनि यसैगरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भइसकेको छ,’ विज्ञप्तिमा छ।

बुद्धका अनुसार हरेक यात्रु पहिचान गर्न एकद्वार प्रणाली अपनाइएको छ। जसअनुसार कम्प्युटर प्रणली अद्यावधिक गरिएको छ। यसले महामारी रोकथामका लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्युटर सिस्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउ सकिन्छ। यसबाट महामारी समुदायमा फैलिनबाट रोक्न मद्दत पुग्ने र अर्थतन्त्र चलायमान हुने विश्वास छ।

७२ सिटे जहाजको सिमरामा सफल परीक्षण उडान

यसैबीच बुद्ध एयरले ७२ सिट क्षमतायुक्त ‘एटिआ७२–५००’ सिरिजको जहाजबाट बाराको सिमरा विमानस्थलमा सफल परीक्षण उडान गरेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुद्धले काठमाडौंबाट १७ जना प्राविधिकसहितको टोली लिएर बुधबार दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरेको जनाएको छ। 

परीक्षण उडान प्राधिकरणले निधारण गरेका सबै सुरक्षा मापदण्डअनुसार गरिएको बुद्धले जनाएको छ। यसअघि बुद्धका ‘एटिआर४२–३२०’ र ‘बिचक्राफ्ट१९००–डी’ सिरिजका जहाजले मात्र सिमरा उडान गरिरहेका थिए। 

गत चैत ११ गतेअघि दैनिक सातदेखि नौवटा नियमित उडान गर्दै आएको बुद्धले आगामी भदौ १ बाट भने ७२ सिटे एटिआर७२–५०० जहाजबाट उडान गर्ने योजना बनाएको छ।


Leave a Reply

Your email address will not be published.