बंगलादेशलाई नेपालमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आह्वान

बंगलादेशलाई नेपालमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आह्वान

अर्थमन्त्री डा. युवराज खतिवडाले बंगलादेशलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।

आफूलाई सिंहदरबारमा भेट्न पुगेका नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्ससँग अर्थमन्त्री खतिवडाले अर्थमन्त्रीले कोभिड-१९ ले ल्याएको चुनौती र अवसरलाई मध्येनजर गरी सहयोगका नयाँ क्षेत्रमा लगानी एवं सहकार्य गर्न आह्वान गरेका हुन्।

आफ्नो ७ वर्षे कार्यकाल पूरा गरी बंगलादेश फर्कन लागेका राजदूत अचेल बिदाइ भेटमा व्यस्त छन्।

भेटमा अर्थमन्त्री खतिवडाले नेपाल र बंगलादेशबीच ५ दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार, ऊर्जा र लगानीका विविध आयाममा सहकार्य भैरहेको बताए। उनले दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने बताए।

नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्दै उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे बताए।

उनले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाइसराइ, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको बताए।

राजदुत साम्सले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा सँगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।  दुई देशबीच व्यापार, ऊर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको बताउँदै उनले सहुलियतपूर्ण र सुविधा प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताए।


Leave a Reply

Your email address will not be published.