प्रदेश १ मा पाँचाैं संक्रमितको मृत्यु 

प्रदेश १ मा पाँचाैं संक्रमितको मृत्यु 

प्रदेश १ मा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुुगेको छ। 

शुक्रबार विराटनगरको कोसी अस्पतालमा थप एकजनाको कोरोनाकै कारण ज्यान गएको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चुमनलाल दासले जानकारी दिए। 

दासका अनुसार मृतक शुक्रबार बिहान मात्र अस्पताल भर्ना भएका हुन्। उनी निमोनियाका बिरामी थिए। कोरोनाको जस्तो लक्षण देखिएपछि उनको तत्काल स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य कार्यालयको पिसिआर ल्याब पठाइएको थियो।

रिपोर्ट आउनुपूर्व नै उनको ज्यान गएको थियो र मृत्युपछि मात्र कोरोना संक्रमण रहेको यकिन भएको हो। विराटनगर-९ का ५८ वर्षीय ती पुरुषको अस्पताल पुर्याइएको केहीबेरमै मृत्युु भएको थियो। 

यसअघि विराटनगरका दुइ, रंगेलीका एक र सुनवर्षीका दुई व्यक्तिको ज्यान गइसकेको छ। मृतक सबै पुरुष हुन्। 
 

एकैदिन ६७ संक्रमित थपिँदा मोरङका मात्रै ६४

प्रदेश १ मा शुक्रबार ६७ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये मोरङका मात्रै ६४ रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको  छ। झापाका २ र सुनसरीका १ जनामा संक्रमण  पुष्टि भएको छ। 

मोरङको विराटनगरका २४ पुरुष र ८ महिला, रंगेलीका २३ पुरुष र ६ महिला, बुढीगंगाका २ पुरुष, कटहरीका १ महिला, झापाका मेचीनगर र बिर्तामोडका १–१ पुरुष, सुनसरीको धरानका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमित संख्या १ हजार ३ सय २२ पुगेको छ। प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन्। 

कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन्। 

डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ।

आज प्रदेश १ मा १ हजार ६ सय ९४ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। 
 


Leave a Reply

Your email address will not be published.