पशुपतिमा मनलागी गर्न पाइँदैन : मन्त्री भट्टराई 

पशुपतिमा मनलागी गर्न पाइँदैन : मन्त्री भट्टराई 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रका सम्पदामाथिको थिचोमिचो र अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने बताएका छन्। 

पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेको  ‘सांस्कृतिक सम्पदा (मूर्त– अमूर्त) अनुसन्धान ग्रन्थ तथा कोषको आधिकारिक वेवसााइट, मोवाइल एप्स, युट्युव च्यानल, ट्वीटरलगायत सोसल मिडिया प्लेटफर्म’को लोकार्पण गर्दै मन्त्री भट्टराईले कुनै पनि राजनीतक उद्देश्य तथा गलत मनसायका साथ आर्थिक लेनदेनका कारण सांस्कृतिक सम्पदाहरुमाथि ज्यादती गर्न नपाइने बताएका हुन्। 

‘अहिले हिजोको जस्तो अस्थीर राजनीतिक अवस्था छैन,’ उनले भने, ‘अहिले जनअनुमोदित र बलियो सरकार छ। त्यसैले कसैसँग राजनीतिक सौदाबाजी गर्नुपर्ने आवश्यकता छैन।’

राजनीतिक उद्देश्य वा अरु कुनै पनि कारणले पशुपति क्षेत्रको सम्पदामाथिको थिचिमिचो र अतिक्रमण टुलुटुलु हेरर बस्न नसकिने उनको भनाइ थियो । ‘हिजो कसको सरकार थियो, के भयो भन्नेतिर अब टाउको नदुखाऔं। अब सांस्कृतिक सम्पदामाथि हुने अनावश्यक अतिक्रमण हटाइन्छ,’ उनले भने।

उहाँले ०४३ सालमै सरकारले तोकेको पशुपतिको चारकिल्लाप्रति कसैको पनि विमति नरहेको भन्दै सो चारकिल्लाभित्र बन्ने निजी संरचना पनि पशुपतिको मापदण्डभित्र रहनुपर्ने बताए। 

पशुपति क्षेत्रको प्रस्तावित गुरुयोजना बाहिर आएपछि संघर्ष समितिको नाममा भएको विरोधलाई सम्बोधन गर्न आफूले मन्त्रालयमै छलफल कार्यक्रम आयोजना गरेको र आवश्यक छलफल गरेर सो प्रस्तावलाई अन्तिम रुप दिने प्रयोजनका लागि मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल पनि गठन गरिसकेको उनको भनाइ छ। 

मन्त्री भट्टराईले लोकतान्त्रिक पार्टीको नेतृत्वको लोकतान्त्रिक सरकार भएको र आफू पनि व्यक्तिगत रुपमा लोकतन्त्रलाई विश्वास गर्ने भएकाले व्यक्तिका असन्तुष्टि वा फरक मतप्रति सम्मान रहेको उल्लेख गरे। 

सरकारले कुनै पनि नागरिकलाई बिना विकल्प आफ्नो निवासबाट नहटाउने र त्यसो गर्नु कानुनले पनि नदिने उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘सरकारले कानुनी सर्वोच्चतालाई सम्मान गर्छ। तर, त्यसो भन्दैमा पशुपति क्षेत्रभित्र त्यहाँ मापदण्ड विपरीत मनलाग्दी गर्न पाइँदैन ।’

नेपाल भौगोलिक हिसावले सानो भए पनि सांस्कृतिक सम्पदाका दृष्टिले धनी रहेको तथा सबैभन्दा पुरानो पूर्वीय सभ्यता नेपाली नै रहेको दाबी गरे। ‘पशुपति हाम्रो बोलीचालीमा भनिएजस्तो विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र मात्र होइन, त्यससँगै नेपालका सबै जाताजातीको सांस्कृतिक÷ऐतिहासिक पहिचान पनि यससँग जोडिएको छ। यसको संरक्षण र प्रवद्र्धन गर्न सबै एक भएर लाग्नुपर्छ’, उनले भने। 

पशुपति क्षेत्र पवित्रतामा रमाउने र धर्म कमाउने ठाउँ भएकाले आर्थिक लेनदेनबाट कुकर्म कमाउने बाटोमा नलाग्न पनि उनले कोषका पदाधिकारी तथा कर्मचारीलाईसचेत गराए। 

‘यदि त्यस्तो कुनै आर्थिक लेनदेन र गलत मानिसलाई प्रश्रय दिने काममा लागेमा  कारबाही गरिनेछ’, उनले चेतावनी दिए, ‘पशुपति क्षेत्रमा मानिसको चाप बढी हुने हुनाले जो कोहीलाई त्यहाँ व्यापार व्यवसाय गर्न मन लाग्नु स्वभाविक हो। तर त्यसका नाममा बाटोघाटो जताततै पसल राख्ने, तोकेको पैसा नदिर्ने, हामीलाई कसले हटाउँछ? भनेर दम्भ देखाउने कुरा स्वीकार्य हुँदैन।’

उक्त कार्यक्रमलाई नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ, कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, कोषका कोषाध्यक्ष डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायतले पनि सम्बोधन गरेका थिए। 


Leave a Reply

Your email address will not be published.