आचरणविपरीत काम गर्ने सहायक प्रहरी निरीक्षक निलम्बित
आचरणविपरीत कार्य गर्ने नेपाल प्रहरीका एकजना सहायक प्रहरी निरीक्षक (सई) प्रदेश २ मा निलम्बनमा परेका छन्। आचरणविपरीत कार्य गरेका सई सुरेश सहनीलाई प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको हो।
सशस्त्र प्रहरी गण गुल्म नम्बर ३ जनकपुरमा दरबन्दी भएका सहनी अहिले प्रहरी चौकी महोनपुर सर्लाहीमा कार्यरत थिए।
सहनीको व्यक्तिगत आचरण तथा व्यवहार नेपाल प्रहरीको व्यावसायिक नीतिविरुद्ध भएको यथेष्ट प्रमाण भेटिएपछि निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अंशुकुमार सिंहले जानकारी दिएका छन्।
ओहदाको काम गर्न दिँदा झुटा प्रमाण संकलन गर्नुका साथै आफू विरुद्धको सबुद प्रमाणहरु नष्ट गर्न सक्ने सम्भावना देखिएकोले थप अनुसन्धान गर्न उनलाई निलम्बन गरिएको सिंहले बताएका छन्।