वामदेवको स्पष्टोेक्तिः ‘प्रचण्ड, ओली र नेपाल कसैको गुटमा पनि छैन’
सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएका कुनै पनि गुटउपगुटमा संलग्न नरहेको प्रष्टिकरण दिएका छन्।
गौतमले शुक्रबार प्रेस नोट जारी गरेर आफू अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपालमध्ये कसैको पनि गुटमा नरहेको दाबी गरेका हुन्।
गौतमले भनेका छन्, ‘अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसग्दा तीनवटा विचार समूह बनेका छन्। यी समूहसँग केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल जोडिनुभएको छ। म समूहगत रुपमा कसैसँग पनि जोडिएको छैन र जोडिन पनि चाहन्न।’
तर, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले भेट्न बोलाउँदा भने आफू जाने गरेको उनको भनाइ छ। ‘उहाँहरूले बोलाउँदा दुवै अध्यक्षसँग भेट्न जाने गरेको छु, सल्लाह सुझाव र राय पनि दिने गरेको छु,’ प्रेस नोटमा भनिएको छ।
गौतमले पछिल्लो पटक पार्टीमा राखेका ६ बुँदे प्रस्तावको समेत स्मरण गराएका छन्। उनले पार्टी अध्यक्ष केवल व्यक्तिमात्र नभएको बताएका छन्। ‘पार्टी अध्यक्ष केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो। त्यसकारण पार्टी अध्यक्षहरू दुवै वा एक्लै उहाँहरूले बोलाउँदा मैले भेट्ने गरेको छु,’ उनले भनेका छन्। उनले दुवै अध्यक्षसँगको भेटमा आफूले गम्भीर आलोचना गर्ने गरेको पनि उल्लेख गरेका छन्।
सरकारले हालै मात्र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको थियो। उक्त नियुक्तिमा आफूले कुनै हस्तक्षेप र सिफारिस नगरेको पनि गौतमले जिकिर गरेका छन्।