गर्मी बियरको सिजन हो, यसपालि कोरोनाले सुकाइदियो
छोटो अवधिमा ओल्ड दरबार ह्विस्की स्थापित गराएको यती ड्रिस्टिलरीका लगानीकर्ताले बियरमा हात हाले।
रवि केसी र अभिषेक श्रेष्ठले गत वर्ष याक ब्रुअरी उद्योगमार्फत बाह्रसिंगे ब्रान्डका बियर उत्पादन थालेका हुन्। बियर उद्योग मुग्लिनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा छ।
‘बियर पारखीले स्वाद खोज्न थालेका छन्, त्यही भएर हामीले डच माल्ट ल्याएर उत्पादन थालेका छौं। यो बियरमा उपभोक्ताले नयाँ स्वाद पाएका छन्,’ याक ब्रुअरीका सञ्चालक रवि केसी भन्छन्, 'नेपालमा कसैले पनि आयातित माल्ट प्रयोग गरेर बियर बनाएका छैनन्।’
उनका अनुसार माल्ट हल्याण्डबाट ल्याइएको हो। उद्योगमा जर्मनी प्रविधिको प्लान्ट लगाइएको छ।
नेपालमा करिब दर्जन बढी बियर उद्योग सञ्चालनमा छन्। तीमध्ये धेरै नेपाली ब्रान्डका छन् कतिपय अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनी पनि नेपालमै उत्पादन गर्छन्।
मदिरा बजारमा भन्ने गरिन्छ, उत्सवदेखि साथीभाइसँगको भेटघाट वा विवाह, पार्टीसम्म ‘मदिराको चुस्की’ चल्छ। पछिल्लो समय नेपालमा पनि मदिरा संस्कृति गर्माउँदो छ। त्यसैमा, पारखीहरूको रुचि चिल्ड (चिसो बियर) मा पर्छ। गर्मीयाममा मात्र होइन चिसोयाममा पनि मदिरा पिउनेहरू उत्तिकै छन्।
हाल नेपालमा गोर्खा ब्रुअरी (समसर्बी, टुबोर्ग, सानमिगल, गोर्खा), टाइगर ब्रुअरी (टेन्सबर्ग), यती ब्रुअरी (अर्ना), सिजी ब्रुअरी (नेपाल आइस) माउन्ट एभरेष्ट ब्रुअरी, युनाइटेड ब्रुअरीलगायत छन्। ती उद्योगले वार्षिक एक करोड ४६ लाख कार्टुन बियर उत्पादन गर्दै आएको तथ्यांक छ।
बियर उद्योगबाट आर्थिक वर्ष ०७५/०७६ मा मात्र अन्तःशुल्कबापत साढे १२ अर्ब रुपैयाँ संकलन भएको राजस्व आन्तरिक राजस्व विभागको तथ्यांक छ। जबकि, आर्थिक वर्ष ०७४/७५ मा ११ अर्ब १९ करोड रुपैयाँ अन्तःशुल्क बुझाएका थिए।
शेर्पा ब्रुअरीले सन् २०१५ देखि खुम्बु कोल्स र हिमालयन ब्रुअरीले काठमाडौं ड्राउट बियर उत्पादन गर्दै आएका छन्। शेर्पा ब्रुअरीका प्रमुख कार्यकारी अधिकृत फुर्वा शेर्पा पनि उपभोक्ताले स्वदेशी, विदेशी ब्रान्डभन्दा पनि स्वाद खोज्ने गरेको बताउँछन्।
नेपाल मदिरा उत्पादक संघका अध्यक्षसमेत रहेका केसी पछिल्लो समय नेपाली बजारमा ह्विस्की, वाइनसँगै बियरको बजार फस्टाउँदै गइरहेकोमा कोभिड-१९ को महामारीले यो सिजनमा बियरले गति समाउन नसकेको बताउँछन्। ‘गर्मीयाममा बियरको खपत बढी हुन्छ तर अहिले अवस्था नाजुक छ,’ उनले भने, ‘सबै मदिराको बजार खस्केको छ। तर, सबैभन्दा बढी बियरको बजार डाउन भएको छ।’
कोरोना भाइरसका कारण मुलुक १ सय २० दिन ठप्प हुनुका साथै अहिले पनि संक्रमण बढिरहेकाले होटल, रेस्टुराँमा भोज, पार्टी निषेध गरिएको छ, बार-डिस्को खुलेका छैनन्। फलतः बियरको बजार गर्माउने यो याममा सुस्ताएको छ।
‘बियरको सिजन सुरु हुँदै थियो, अब राम्रो हुन्छ भन्ने थियो तर कोरोनाले सबै ठप्प पार्यो,’ प्रमुख कार्यकारी अधिकृत शेर्पाले भने, ‘सरकारले हामीलाई पनि राज्यले केही हेरिदिए हुन्थ्यो भन्ने लाग्छ।’ उनका अनुसार शेर्पा ब्रुअरीले हाल ३० प्रतिशतमात्र उत्पादन गरिरहेको छ। ‘त्यो पनि मार्केटमा जान धौ धाै भएको छ,’ उनले भने।