कोरोना नियन्त्रणबाट पन्छिँदै जनकपुर उप-महानगर, सिडि‌‌ओले लिए अग्रसरता

कोरोना नियन्त्रणबाट पन्छिँदै जनकपुर उप-महानगर, सिडि‌‌ओले लिए अग्रसरता

महामारीको रूपमा फैलिएको कोरोना संक्रमणका कारण प्रदेश २ सुरुदेखि नै उच्च जोखिममा रह्यो। सरकारले चैत ११ गते लागू गरेको लकडाउन अन्त्य भएर साउन नाघ्न लाग्दा यो प्रदेश कोरोनाको ‘हटस्पट’ बनेको छ।

यहाँ कोरोना संक्रमितको संख्या ५ हजार नाघिसकेको छ। र, यसबाट प्रदेश २ को मुकाम जनकपुरधाम झन् झन् जोखिमको चपेटामा परेको छ।

जनकपुरमै रहेको प्रदेशको प्रमुख प्रशासनिक केन्द्र ‘मधेस भवन’ सिल भइसकेको छ। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र प्रदेश सांसद डा.रीना यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयका धेरै कर्मचारीलाई कारोना संक्रमण पुष्टि भइसकेको छ।

यसबाहेक जनकपुरभित्रै समुदायमा संक्रमण फैलिइसकेको छ। जनकपुर क्षेत्रभित्र कोरोना संक्रमणका त्रास फैलिइरहे पनि उपमहानगरपालिका कार्यालयले रोकथाम र न्यूनीकरणका खासै तदारूकता देखाएको पाइँदैन। 

क्वारेन्टाइन व्यवस्थापनदेखि सर्वसाधारणको स्वाब पिसिआर विधिबाट परीक्षणतर्फ स्थानीय सरकारको ध्यान जान सकेको छैन। उपमहानगरभित्र हरेक दिनजसो संक्रमित फेला परिरहेका छन्। उपमहानगरले सचेतना र सावधानी अपनाउन सूचनासमेत प्रवाह गरेको छैन।

उपमहानगर मौन बसेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रसरता लिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलेले शुक्रबार सरोकारवालासँग छलफल गरेर उपमहानगरपालिकाका हरेक वडामा संक्रमितको पहिचान, कन्ट्याक्ट ट्रेसिङ र स्वाब परीक्षण गराउन टिम गठन गर्न लगाएका छन्।

स्वास्थ्यकर्मी र प्राविधिकसम्मलित टिमलाई संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब परीक्षण गर्ने जिम्मेवारी दिइएको छ।

‘संक्रमण रोकथाम र न्यूनीकरणका लागि कन्ट्याक्ट ट्रेसिङ जरूरी हुन्छ, अहिलेसम्म यसतर्फ चासो लिइएको देखिएन,’ भट्टराईले भने, ‘यो काम सुरुमै भइसक्नुपर्ने थियो। तर, अहिले गर्नुपरेको छ।’

बैठकबाट जनकपुर उपमहानगरका लागि पाँच वटा कन्ट्याक्ट ट्रेसिङ टिम बनाइएको भन्दै उनले ‘कोभिड पुष्टि भइसकेकालाई कहाँबाट संक्रमण भयो, उसले क-कसलाई भेटे, के कस्ता काम गरे यी सबै विषयमा खोजबिन गरेर संक्रमित व्यक्तिको सम्पर्कमा आएकालाई स्वाब संकलन गरेर पिसिआर विधिबाट परीक्षण गराउन काम ‘कन्ट्याक्ट ट्रेसिङ टिम’ ले गर्ने’ बताए।

उपमहानगरले हालसम्म कन्ट्याक्ट ट्रेसिङ टिम किन गठन गर्न नसकेको भन्दै बैठकका सहभागीले राखेको प्रश्नको जवाफमा उपमहानगरपालिका कार्यालयका स्वास्थ्य संयोजक उमेश रायले जनशक्तिको अभाव देखाउँदै पन्छिन खोजेका थिए।

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार हामीसँग जनशक्ति नरहेकोले यसतर्फ काम गर्न नसकिएको संयोजक रायले बताएपछि बैठकमा सहभागी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले ‘अहिले प्रोटोकोल र मापदण्ड हेर्ने समय होइन। उपलब्ध जनशक्ति परिचालन गरेर महामारी नियन्त्रणतर्फ लाग्नुपर्ने’ बताएका थिए।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले पनि मापदण्ड पूरा गर्नुपर्नेमा जोड दिएपछि प्रजिअ भट्टराईले ‘अहिले मापदण्डअनुसारको जनशक्ति कहाँबाट ल्याउने? मापदण्डको कुरा गरेर मानिसलाई मर्न दिन सकिन्न’ बताएको बैठकमा सहभागी एकजना स्वास्थ्यकर्मीले बताएका छन्।

शुक्रबार गठन गरिएको पाँचवटामध्ये एउटा टिमले वडा नम्बर ९ मा काम गर्न सुरु गरिसकेको बताइएको छ। यद्यपि आइतबार प्रशिक्षणपछि सबै पाँचवटा टिम आ-आफ्नो वडामा परिचालन भएर ट्रेसिङको काम सुरु गर्ने बुझिएको छ।


Leave a Reply

Your email address will not be published.