चार महिनाको लकडाउनमा झन्डै चारै हजार अपराध, मूल कारण तनाव

चार महिनाको लकडाउनमा झन्डै चारै हजार अपराध, मूल कारण तनाव

– असार पहिलो साता कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित सहिद स्मृति स्कुलमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकि ३१ वर्षीया महिलामाथि सामूहिक बलात्कार।

– साउन ९ गते राजधानीको सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार।

– पर्साको ठोरी गाउँपालिकाको स्याउली बस्तीमा ४५ वर्षीया बाबुले ११ वर्षीया छोरीलाई बलात्कार।

– काठमाडौंको चुच्चेपाटीमा बिहीबार साँझ एकजनाले श्रीमती र छोरीमाथि केमिकलको भाडामा राखिएको तातोपानी खन्याएर आक्रमण।

यी त प्रतिनिधि घटनामात्रै हुन्। 

कोरोना भाइरस संक्रमणको महामारी चलिरहेकै बेला यस्ता हजारौं आपराधिक घटना भएका छन्। 

लकडाउनको समयमा त घरेलु हिंसा तथा आपराधिक क्रियाकलाप बढिरहेका छन्।

मुलुक बन्दाबन्दीका बेला असार ११ देखि साउन ३ गतेसम्म मात्रै मुलुकभर ३ हजार ६ सय ६१ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घरेलु हिंसाका मुद्दा दर्ता भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनको अवधि (चैत ११ देखि साउन ३) मा महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दा नै ३ हजार ६ सय ६१ मुद्दा दर्ता भएको छ।

त्यसमा सबैभन्दा बढी आत्महत्या र घरेलु हिंसाका घटना छन्।

लकडाउनको समयमा १ हजार ४ सय ६३ घरेलु हिंसाका घटना दर्ता भएका छन् भने १ हजार १ सय ९० आत्महत्या गरेको घटना सार्वजनिक भएको छ।
घरेलु हिंसापछि बलात्कार र जबरजस्ती करणीका घटना बढी घटेका छन्।

लकडाउनको चार महिनाको अवधिमा मात्रै देशभर ६ सय ३२ बलात्कारका घटना भएका छन् भने १ सय ६९ जबरजस्ती करणीका घटना दर्ता भएको प्रहरीले जनाएको छ। जुन सामान्य अवस्थाको तुलनामा बढी हो।

आर्थिक वर्ष २०७५/७६ मा देशभर २ हजार २ सय ३० जबरजस्ती करणीका मुद्दा र १४ हजार ७ सय ७४ घरेलु हिंसाका घटना दर्ता भएका थिए।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा अहिलेसम्म २ हजार १ सय ४४ बलात्कारका घटना दर्ता भएका छन् भने ११ हजार ७ सय ३८ घरेलु हिंसाका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।

प्रहरी मुख्यालयका अनुसार लकडाउनको समयमा जबरजस्ती करणी, बालविवाह, बहुविवाह, बोक्सीको आरोप, अवैध गर्भपतन, जातीय छुवाछुत, बाल यौनदुराचार, अप्राकृतिक मैथुन, आत्महत्या, घरेलु हिंसा गरी १ हजार ८० घटना घटेका छन्।

नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी कुवेर कडायतले समाजमा व्याप्त रहेको अशिक्षा, गरिबी, मानसिक तनाव र चेतनाको कमीले घरेलु हिंसा तथा अन्य आपराधिक क्रियाकलाप हुने गरेको बताए।

‘घरेलु हिंसा तथा आपराधिक क्रियाकलापमा घरपरिवार, छिमेकी र चिनेजानेकै मान्छे संलग्न हुन्छन्, लकडाउनको समयमा आर्थिक समस्या, मादक पदार्थको कारण, मतभिन्नता, संस्कृति र शैक्षिक स्तरले घटना हुने गरेको पाइन्छ,’ प्रवक्ता कडायतले भने।

मनोचिकित्सक डा. विश्वबन्धु शर्मा भने लकडाउनका बेला पीडक र पीडित सबै सँगै रहने, आर्थिक समस्या र मनमुटाव हुँदा यौनहिंसा बलात्कार, कुटपिट, महिलाहिंसा र अन्य आपराधिक क्रियाकलाप हुने गरेको बताउँदै मानसिक तनावबाट सिर्जित हुने अवस्थामा यस्ता घटना बढेको बताउँछन्।

‘अहिले हरकसैले विषम परिस्थिति सामना गरिरहेको छ, अन्योल र अनिश्चितता व्याप्त छ, त्यसले गर्दा अन्योल भविष्यलाई लिएर धेरैले यस्ता घटना घटाउने गर्छन्,’ मनोचिकित्सक शर्माले भने।

उनका अनुसार जोकोही मासिले समस्या र जोखिम मोल्न सक्दैनन् । घरभित्रै बसिरहेको अवस्थामा विभिन्न आत्मीय र भौतिक कुराले पिरोलिँदा तनाव उत्पन्न हुन्छ। त्यस्ता पक्षलाई व्यवस्थापन गर्न नसक्दा पनि यस्ता घटना घट्ने गर्दछ।

धूमपान, मद्यपानका कारणले पनि अधिकांश हिंसा र अपराधजन्य घटना हुने गरेको छ । पारिवारिक कलह, मनमुटाव, सांस्कृतिक परिवेश, चालचलन, उमेरबीचको भिन्नताले पनि घरेलुहिंसा निम्त्याउने गरेकोे डा. शर्मा बताउँछन्।

समाजमा यस्ता घटना बढ्दै गइरहेको र यसको न्यूनीकरणका लागि जनचेतना फैलाउनेदेखि सुझाव र सल्लाह दिने र मानसिक समस्या भए उपचारलाई अस्पताल लैजानुपर्ने डा. शर्माले बताए।

आर्थिक वर्ष २०७५÷७६ मा जबरजस्ती करणीका २ हजार २ सय ३०, मानव बेचबिखन र जबरजस्ती करणीका १५, अपहरण गरी जबरजस्ती करणीका ४७, जबरजस्ती करणी कर्तव्यज्यानका ११, बालविवाह गरी करणीका ३, जबरजस्ती करणी उद्योगका ७ सय ८६, बालविवाहका ८६, बहुविवाहका १ हजार १, बोक्सीको आरोपमा ४६, गर्भपतनका २७, छुवाछुतका ४३, अप्राकृतिक मैथुनका ३५ र बालयौन दुराचारका २ सय ११ र घरेलु हिंसाका १४ हजार ७ सय ७४ घटना दर्ता भएको प्रहारीले जनाएको छ।

त्यस्तै चालु आर्थिक वर्ष २०७६÷७७ मा जबरजस्ती करणीका २ हजार १ सय ४४, मानव बेचबिखन जबरजस्ती करणीका १, अपहरण गरी जबरजस्ती करणीका ३४, जबरजस्ती करणी कर्तव्यज्यानका २, बालविवाह गरी करणीका ३, जबरजस्ती करणी उद्योगका ६ सय ८७, बालविवाहका ६४, बहुविवाहका ७ सय ३४, बोक्सीको आरोपका ३४, गर्भपतनका २९, छुवाछुतका ३०, अप्राकृतिक मैथुनका २७ र बालयौन दुराचारका २ सय ३२ र घरेलु हिंसाका ११ हजार ७ सय ३८ घटना दर्ता भएका छन्।


Leave a Reply

Your email address will not be published.