नेपालगन्ज उपमहानगर आज रातिदेखि ‘सिल’

नेपालगन्ज उपमहानगर आज रातिदेखि ‘सिल’

तीव्र रूपमा कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाको चारै किल्ला सिल गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्रका रूपमा नेपालगन्जलाई शनिबार राति १२ बजेदेखि सिल गरिने छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन २४ गते राति १२ देखि साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगन्जका उपमहानगरका चारै किल्ला सिल गर्ने निर्णय गरेको हो ।

यस अवधिमा नेपालगन्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शववाहन र दमकलबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइने छ । साथै हिँडडुल तथा व्यवसाय सञ्चालनमा समेत पूर्ण रूपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँके जिल्ला प्रशासन कार्यालयका अनुसार नेपालगन्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलालचोकदेखि गणेशमानचोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाउँ, बाँकेगाउँबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्लाभित्रको क्षेत्र पूर्ण रूपमा सिल गर्ने भएको हो।


Leave a Reply

Your email address will not be published.