चितवनका भित्री बस्तीमा संक्रमित भेटिन थाले  

चितवनका भित्री बस्तीमा संक्रमित भेटिन थाले  

चितवनमा १२ दिनसम्म कोरोना भाइरसका संक्रमित भेटिएनन्। मानिसहरू संक्रमण नभएको ढुक्क महसुस गर्न थाले। चितवनका बजारमा चहलपहल बढ्यो। निर्वाध रूपमा सर्वसाधारणले हिँड्डुल गर्न थाले। तर, साउन २१ गतेदेखि लगातार कोरोना संक्रमित देखिन थालेका छन्। 

एक्कासि नारायणगढकै मुख्य बजारमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिएपछि भित्र–भित्रै कोरोना फैलिएको अनुमान गरिएको छ। 

बुधबार नारायगणगढका ७९ वर्षे वृद्धमा कोरोना संक्रमित पुष्टि भयो। त्यसको भोलिपल्ट भरतपुर महानगरपालिका ५ तोरीखेतका एक ड्राइभरमा संक्रमण पुष्टि भयो। साउन २३ गते संक्रमित ७९ वर्षे वृद्धका छोरा र बुहारीमा समेत कोरोना भाइरस देखा प-यो। उनीहरूको ट्राभल हिस्टी छैन। 

यसले गर्दा चितवनमा पनि भित्री बस्तीमा कोरोना भाइरस फैलिएको हुनसक्ने चिकित्सकहरूले अनुमान गरेका छन्। तर, अहिले नै समुदायमा फैलिएको भन्न नसकिने भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख दीपक सुवेदी बताउँछन्। 

‘अहिले नै कोरोना समुदायमा फैलिएको भन्न मिल्दैन होला। आज (शनिबार) संकलन गरिएका २६ वटा स्वाबमा पोजेटिभ पुष्टि भयो भने भन्न सकिन्छ,’ सुवेदीले भने, ‘अहिले कुनै क्षेत्रमा मात्र कोरोना देखिएको हुनसक्छ।’

संक्रमित व्यक्तिले आफ्नो ट्राभल हिस्ट्रीको सही सूचना नदिँदा कन्ट्याक ट्रेसिङ गर्न कठिन भएको सुवेदीले बताए। अहिले संक्रमितको स्रोत नै पत्ता लाग्न सक्ने अवस्था छैन।

कहिँकतै नगएका र विदेशबाट आएकाको सम्पर्कमा पनि नरहेका व्यक्तिमा कोभिड–१९ देखिएमा तेस्रो चरणमा कोरोना प्रवेश गरेको मान्न सकिन्छ। 
चितवनमा अहिलेसम्म १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ११ जनाको ट्राभल हिस्ट्री छैन। 

यसअघि ट्राभल हिस्ट्री नदेखिएका संक्रमित सबैजना निको भएर घर फर्किसकेका छन्। भरतपुर अस्पतालमा उपचारमध्ये ९१ जना निको भएका छन्। तीनजना मात्र उपचारका क्रममा रहेका छन्। चितवनमा पहिलो पटक बैशाख ५ गते दुईजनामा कोरोना संक्रमण देखिएको थियो। 

संक्रमित देखिएपछि पुतलीबजार क्षेत्र सिल

भरतपुर महानगरपालिका–१ पुतलीबजार क्षेत्रमा संक्रमित फेला परेपछि सिल गरिएको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार संक्रमितको घरवरपरको क्षेत्रमा सिल गरिएको हो। उक्त क्षेत्रमा आवतजावतमा रोक समेत लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। सो क्षेत्रमा आवतजावतमा रोक लगाइएको प्रजिअ भट्टराईले बताए।

सडक टोल सिल गर्नु बाध्यता भएको भन्दै भट्टराईले मानिसले आफ्नो मनलाई सिल गरेर अनुशासित नबनेसम्म सुरक्षित हुन नसक्ने बताए। 

कोभिड १९ को संक्रमण बढ्दो अवस्थामा रहेकाले आफू र आफ्नो परिवार सुरक्षित राख्न समेत उनले आग्रह गरे। ‘कोभिड १९को संक्रमणबाट सुरक्षित हुन आफू नै सर्तक हुनुपर्छ। त्यो काममा तपाईलाई हामी सघाउने छौँ। तर, तपाई सुरक्षित रहने नरहने कुरा हाम्रो भन्दा तपाईको हातमा छ।’ उनले भने, ‘के गर्ने के नगर्ने भन्ने कुराको आचारसंहिता बनाएर त्यसलाई तपाईले पालना गर्नुहोस् र परिवारका सदस्यलाई पनि पालना गर्न लगाउनुहोस्।’ 

बुधबार संक्रमित भएका वृद्ध र उनका छोराबुहारीमा समेत पोजेटिभ रिपोर्ट आए पुतलीबजार क्षेत्रमा आवतजावतमा रोक लगाइएको हो।


Leave a Reply

Your email address will not be published.