सिल भएका काठमाडौंका टोलहरू

सिल भएका काठमाडौंका टोलहरू

उपत्यकामा कोरोना संक्रमित बढ्न थालेपछि विभिन्न ठाउँहरु सिल गर्न थालिएको छ। 

काठमाडौं महानगर–२७को भोटाहिटी क्षेत्र शनिबार बिहानैदेखि बन्द गरिएको छ। त्यस क्षेत्रमा संक्रमित देखिएपछि वडा कार्यालयले सबै पसल तथा कार्यालयहरु बन्द गर्न आह्वान गरेको हो। 

वडा कार्यालयले शनिबार बिहान बन्द गर्नका लागि माइकिङ समेत गरेको थियो। यो क्षेत्रमा नौ जना संक्रमित भेटिएका छन्। भोटाहिटी, असन, कमलाक्षीलगायतका क्षेत्रका व्यापार व्यवसाय कम्तीमा एक साता बन्द रहनेछ। 

वडा नं २२ अन्तर्गत न्यूराेड, खिचापाेखरी क्षेत्र शुक्रबारदेखि नै बन्द गरिएको छ।

त्यस्तै काठमाडौंको गहनापोखरीदेखि हाडीगाउँ क्षेत्र सिल गरिएको छ। एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको हो। 

गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं स्थानीय प्रशासनले जनाएको छ। संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन्। त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो। 

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो।

उपत्यकाका विभिन्न १२० ठाउँमा करिब ९ सय ९२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयले पनि काम बन्द गरेका छन्। सवारीमा जाेर बिजाेर लागु गरिएको छ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्नसमेत प्रतिवन्ध लगाइएको। 


Leave a Reply

Your email address will not be published.