प्रदेश १ : कोरोना अस्पतालका बेडभन्दा संक्रमित बढी

प्रदेश १ : कोरोना अस्पतालका बेडभन्दा संक्रमित बढी

प्रदेश १ मा कोरोना संक्रमितको उपचार गर्ने अस्पतालको वेड संख्याभन्दा संक्रमित बढि हुन थालेका छन्। शनिबार मात्र प्रदेश १ मा ६७ संक्रमित थपिएका छन्। 

लक्षणसहितका संक्रमण बढ्नथालेपछि स्वास्थ्य चुनौती थपिएको हो। यसअघि प्रदेश सरकारले कोरोना उपचार केन्द्रको क्षमता विस्तार गर्ने बताए पनि हालसम्म प्रदेशभरी २ सय ६० भन्दा बढी वेडक्षमता छैन। 

समुदायमा प्रष्ट देखिएको कोरोना संक्रमणलाई मध्यनगर गरेर नीजि अस्पताल, ठूला सामुदायीक भवन तथा ठूला नीजि होटेलमा आइसोलेशन सेन्टर बनाउन पहल गरिएको छैन। 

प्रदेश १ को छुट्टै कोशी कोभिड अस्पतालको वेड क्षमता ६० रहेको छ। त्यस्तै धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय वेड, मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको परिसरमा १ सय २५ वेड, कोशी अस्पताल परिसर भित्र १० वेड क्षमताको आइसोलेटेड सेन्टर र झापामो मेची अस्पतालमा २५ वेडको आइसोलेसन सेन्टर रहेको छ।  

प्रदेश १ मा ४ महिनाको अवधिमा संक्रमितको संख्या १ हजार नाघेको छ। बैशाख ५ गते उदयपुरको भुल्केमा १२ भारतीय नागरिकलाई संक्रमण देखिएको थियो भने शनिबारसम्मको विवरणअनुसार प्रदेश १ मा संक्रमितको संख्या १ हजार ३ सय ८३ पुगेको छ। यो ४ महिना बीचको तथ्याङ्क हो। 

जसमध्ये ९ सय ८ जनाले कोरोना जीतेर घरफर्किसकेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। संक्रमित ४ सय ७५ मध्ये २ सय ९१ जना आइसोलेसनमा रहेका छन् भने १ सय ७९ जना अझै प्रक्रियामा रहेको तथ्याङ्कले देखाउछ। ५ संक्रमितको भने ज्यान गइसकेको छ। 

यसरी अझै १ सय बढि व्यक्ति प्रक्रियामै रहनुले आइसोलेसन सेन्टरको अभाव प्रष्टै देखिन्छ। 

बिहिवार नै संक्रमण पुष्टि भइसकेका व्यक्तिलाई अझैसम्म अस्पताल पुर्याइएको छैन। पछिल्लो समय मोरङमा संक्रमितको संख्या ठूलो देखिएको छ। 

तर, विराटनगर महानगरपालिकाले आइसोलेटेड अस्पतालमा थप संक्रमित राख्ने ठाउँ नभएको हुँदा नगरका संक्रमितलाई अस्पतालसम्म पुर्याउन नसकिएको बताएको छ। 

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीकाअनुसार विराटनगरमा शुक्रबार मात्र ३८ संक्रमित घरमै छन्। शनिबार थप ३३ संक्रमित विराटनगरबाटै थपिएका छन्। तिनीहरूलाई समेत अस्पताल पुर्याउन पाइएको छैन। 

विराटनगरमा अहिलेसम्म १० जना संक्रमितले भने होम क्वारेन्टाइनमा बस्ने अनुमती मागेका छन्। उनीहरूलाई नगरको स्वास्थ्यकर्मीको टीमले नियमित परामर्श दिइरहेको र परीक्षण भइरहेको कार्कीले जानकारी दिए। तर बाँकि अन्य ठाउँको संक्रमितको अवस्थ के छ टुंगो छैन।
 
कोशी कोभिड अस्पतालको व्यवस्थापन हेर्ने जिम्मेवारी पाएका ज्ञानबहादुर बस्नेतले तत्काल आइसोलेसन केन्द्र थप्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। ‘जुन रेसियोमा पोजेटीम केश बढ्दै आइरहेको छ त्यसले आइसोलेसन उपचार केन्द्रको चाप धान्न सकेन,’ बस्नेतले भने, ‘अब अन्य ठाउँमा पनि आइसोलेसन सेन्टर बनाउँदै जानुपर्छ भन्ने बारेमा सोच्नुपर्छ।’

प्रदेश १ सरकारले पछिल्लो २ हप्तामा देखिएको बदलिँदो परिस्थिति बारे कुनै ठोस निर्णय गरेको छैन। मुख्यमन्त्री काठमाण्डौ लामो बसाइ पश्चात शनिवार मात्र विराटनगर फर्किएका छन्। उनले आइतवार देखि कोभिडसँग सम्बन्धित केहि महत्वपूर्ण निर्णय गर्ने तयारीमा रहेको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन्।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले धरानको विपी र  विराटनगरको कोशी कोभिड उपचार केन्द्रको क्षमता बढाउने काम तीव्र रुपमा भइरहेको जानकारी दिए। उनले केहि दिन भित्रै प्रदेश भित्र ५ सय वेड क्षमताको आइसोलेसन सेन्टर बनाउने बताए। 

उनले प्रदेशमा कोरोना जाँचको दरलाई बढाइएको भन्दै दैनीक १ हजार ५ सय बढिको पिसिआर परीक्षण हुन थालेको जानकारी दिए। मन्त्रालयको विवरणअनुसार शनिवारसम्ममा प्रदेशभरीका ५० हजार ६ सय ६६ व्यक्तिको पिसिआर परिक्षण भइसकेको छ।


Leave a Reply

Your email address will not be published.