सुटकेसभित्र भेटिएको शव अनुसन्धान गर्न फरेन्सिक डाक्टर र कुकुरसहितको टोली 

सुटकेसभित्र भेटिएको शव अनुसन्धान गर्न फरेन्सिक डाक्टर र कुकुरसहितको टोली 

सुटकेसभित्र भेटिएको शव अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पतालबाट दुईजना फरेन्सिक डाक्टरको टोली गोंगबु पुगेको छ। 

आइतबार बिहान गोंगबु चोकबाट करिब सय मिटर उत्तर अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको थियो। टोखा नगरपालिका-१० स्वर्गद्वारी मार्गमा भेटिएको उक्त शव जीउ एकातिर र टाउको अर्कैतिर भेटिएको थियो।

महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार फरेन्सिक डाक्टरले शव परीक्षण गरिरहेका छन्। शव परीक्षणपछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी प्रहरीको छ। 

थापाका अनुसार गोंगबु चोकबाट उत्तर सय मिटरमा सुटकेसमा टाउको र खुट्टाबिनाको शव फेला परेको थियो। त्यसको ३ सय मिटर उत्तरपूर्व जेब्रा झोलामा छुट्टाछुट्टै अवस्थामा टाउको र खुट्टा फेला परेको छ।

‘जेब्रा झोलाभित्र पनि दुईवटा कालो प्लास्टिक एउटामा टाउको र अर्कोमा खुट्टा फेला परेका छन्,’ थापाले भने। 

तर, मुख्य घटनास्थल कहाँ हो भन्ने पत्ता लागिसकेको छैन। 

अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर अपराध महाशाखाको टोली व्यापक परिचालन गरिएको छ। 

‘कुकुरसहितको टोली खटिरहेको छ,’ थापाले भने। मंगोलियन अनुहारजस्तो देखिने ती व्यक्ति कवाडी ठेकेदार हुनसक्ने आँकलन गरिएको छ। तर, उक्त शवको सनाखत भइसकेको छैन। 

‘घटना यति विभत्स छ कि यो सानोतिनो रिसबाट गराएको हैन, अत्यन्तै क्रुरतापूर्वक हत्या गरेको देखिन्छ,’ थापाले भने।


Leave a Reply

Your email address will not be published.