एकता जोगाउन नेकपाका ६१ सांसदको अपिल- पदको लडाइँमा साथ नदिऔँ

एकता जोगाउन नेकपाका ६१ सांसदको अपिल- पदको लडाइँमा साथ नदिऔँ

लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र चलिरहेको विवादले पार्टी फुट्ने बाटोमा पुगेको भन्दै नेकपाका सांसदहरुले एकता जोगाउन अपिल गरेका छन्।

नेकपाका ७० जना सांसदले हस्ताक्षरसहित पार्टीलाई विग्रहको बाटोमा जानबाट रोक्न मुख्य नेतृत्वलाई अपिल गरेका हुन्। 

आइतबार दिउँसो २ बजे नेकपा संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी हजारौं नेता कार्यकर्ताको योगदानबाट निर्माण भएको पार्टीलाई व्यक्तिगत स्वार्थका लागि विभाजन नगर्न अनुरोध गरेका छन्। 

ठूलो पार्टीभित्र अन्तरविरोध हुनु स्वभाविक भएको बताउँदै उनीहरुले तर, त्यस्तो विवादलाई सतहमा ल्याउने र सिंगो पार्टी नै फुटतर्फ जाने अवस्थामा चुप लागेर बस्न नसकिने बताएका छन्। 

पार्टीलाई विधि र प्रक्रियाअनुसार अगाडि लैजाने कुरामा आफूहरुको साथ रहेको तर पद र प्रतिस्ठाका लागि हुने लडाइँ र विभाजनमा आफूहरु कुनै पनि हालतमा संलग्न नहुने उनीहरुको भनाइ छ। 

पत्रकार सम्मेलनमा बोल्दै सांसद तथा नेकपा केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीले पछिल्लो समय नेकपाभित्र केही असामान्य परिस्थिति सिर्जना हुँदा छलफलका लागि बैठक बस्ने वातावरण पनि नबनेको बताइन्। 

‘अहिले थुप्रै कुराहरु सतहमा आएका छन्, मुख्य नेतृत्व नै सानो परिवार, सुखी परिवार भनेजस्तै फुटेर फरक बाटोमा जाउँ भन्नेहरु पनि हुनुहुन्छ। कोही चाही पार्टी विभाजित गर्नुहुन्न भन्ने पक्षमा हुनुहुन्छ,’ उनले भनिन्, ‘लामो प्रयास, त्याग र तपस्याकाबीच पार्टी एकता भएको हो, यहाँ हजारौं कार्यकर्ता मात्रै होइन, सिंगो जनताको भविष्य पनि जोडिएको छ। यी सबै कुरालाई मध्यनजर गर्दै मुख्य नेतृत्व नै विभाजनतिर उन्मुख हुन्छ भने हामी चुप लागेर बस्न सक्दैनौं। पछि दुर्घटना भइसकेपछि बोल्नुको केही अर्थ छैन।’

असार दोस्रो साताबाट नै नेतृत्वलाई अपिल गर्ने कुरा भए पनि नेतृत्व आफैं सच्चिन्छ कि भन्ने आशाले धैर्य गरेको उनको भनाइ छ। तर, एक एक गर्दै एकता प्रक्रियाभन्दा पनि विभाजतर्फ उन्मुख भएको देखिएपछि एकताको पक्षमा रहेका सांसदहरु बोल्नुपरेको उनको भनाइ छ। अहिले पार्टीका नेताहरुका अभिव्यक्ति र गतिविधिका कारण जनता र कार्यकर्तामा नै पार्टीप्रति वितृष्ण जागेको एकताका पक्षधर सांसदहरुको निस्कर्ष छ। 

पार्टी एकतालाई अक्षुण राख्न मुख्य नेतृत्वलाई अपिल गरेको नेकपा सांसद विष्णुप्रसाद दाहालले बताए। लामो समयदेखि कम्युनिष्ट पार्टीभित्र टुटफुटको संघर्ष चलेको र अथक प्रयासबाट पार्टी एकता भएकाले यसलाई पूर्णता दिनुपर्ने आफूहरुको माग रहेको दाहालको भनाइ छ। शीर्ष नेतृत्वको अन्तरविरोधले जनता र कार्यकर्ता मर्माहत भएको बताए। अपिलमा समाजवादी अर्थतन्त्र निर्माण गर्ने बाटोमा जानुपर्नेबेला एकता पूरा नहुँदै विग्रहतर्फ जान लागेकोले शीर्ष नेतालाई गम्भीर भएर सोँच्न आग्रह गरिएको छ। 

अहिले पद र प्रतिष्ठाको लडाइँभन्दा पनि महाधिवेशनतर्फ लाग्न अपिलमा भनिएको छ। कोरोनाले पारेको असर न्यूनिकरण गरी र सवल अर्थतन्त्र निर्माणको दिशामा अगाडि बढ्न शीर्ष नेतालाई अनुरोध गरेका छन्। ‘पार्टीभित्रको संकट समाधानका लागि र पार्टी एकतालाई सदृढ बनाउन हामी एकताको पक्षमा उभिएका छौं’, अपिलमा भनिएको छ।  


Leave a Reply

Your email address will not be published.