दुर्व्यवहार गरेर चिकित्सकको मनोबल नघटाउन स्वास्थ्यकर्मी संघको आग्रह

दुर्व्यवहार गरेर चिकित्सकको मनोबल नघटाउन स्वास्थ्यकर्मी संघको आग्रह

नेपाल स्वास्थ्यकर्मी संघ धनुषाले कोरोना महामारीमा संक्रमित बिरामीहरूको उपचारमा खटिइने चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई दुर्व्यवहार गरेर मनोबल कमजोर नबनाउन अपिल गरेको छ।

कोरोना संक्रमित प्रादेशिक अस्पताल जनकपुरका केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बसिरहेको होटलबाट जबरजस्ती निकालिनु अमानवीय कार्य रहेको भन्दै स्वास्थ्यकर्मी संघले भत्र्सनासमेत गरेको छ।

केही दिनअघि प्रादेशिक अस्पताल जनकपुरस्थित जेनेरल आइसीयुमा कार्यरत दुई चिकित्सकसहित आठजना स्वास्थ्यकर्मीहरूमा संक्रमण पुष्टि भएको थियो। 

संक्रमण पुष्टि भइसकेपछि अस्पताल प्रशासनले उनीहरू बस्दै आइरहेको होटलबाट जबरजस्ती निकाल्न लगाएर कोभिड अस्पतालको आइसोलेसनमा बस्न लगाएको थियो। तर, आफूहरू लक्षणसहितको संक्रमितहरूसँग आइसोलेसनमा नबस्ने भन्दै स्वास्थ्यकर्मीहरूले विरोध गरेको थियो। विरोधपछि उनीहरूलाई कोभिड अस्पतालकै छेउमा रहेको नर्सिङ क्याम्पसको होस्टलमा राखिएको छ।

‘आफ्नो ज्यान तथा परिवारजनको कुनै परवाह नगरी अहोरात्र जीवन जोखिममा राखेर कोरोना संक्रमित बिरामीहरूको उपचारमा खटिइएका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई गरिएको दुर्व्यवहारले मनोबल कमजोर भएको हामीले महसुस गरेका छौं,’ स्वास्थ्यकर्मी संघ धनुषाका अध्यक्ष रामगुलाम कर्णले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै स्वास्थ्यकर्मी संघले स्वास्थ्य चौकी एवं अस्पतालहरूमा खटिइ सेवा दिइहरेका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई मास्क, पञ्जा, पीपीईलगायतका न्यूनतम सुरक्षा उपलब्ध गराउनसमेत माग गरेको छ।

कोभिड–१९ संक्रमित बिरामीहरूको उपचारमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीको उचित बसोबास र खानपिनको व्यवस्थापन गर्न स्वास्थ्यकर्मी संघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

पिसिआर  पोजिटिभ भएका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई सुविधा सम्पन्न आइसोलेसनमा राख्न माग गर्दै स्वास्थ्यकर्मी संघले संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको परिवारका सदस्यहरूको पिसिआर परीक्षणको अविलम्ब व्यवस्था गर्न भनेको छ। 

साथै कोरोना संक्रमणको रोकथाम र उपचारमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको जोखिम भत्ता तत्काल उपलब्ध गराउन संघले सरोकारबलालाई ध्यानाकर्षण गराएको छ।


Leave a Reply

Your email address will not be published.