झापामा राप्रपा (संयुक्त) को पूरै जिल्ला कमिटीले दियो राजीनामा

झापामा राप्रपा (संयुक्त) को पूरै जिल्ला कमिटीले दियो राजीनामा

झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को पूरै कार्यसमितिले राजीनामा दिएको छ। २७ सदस्यीय जिल्ला समितिले पार्टी परित्यागको घोषणा गरेसँगै झापामा उक्त पार्टीको अस्तित्व खतरामा परेको छ।

सात पदाधिकारी, २० जिल्ला सदस्य र पाँच क्षेत्रीय अध्यक्षले हिजो सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका थिए। 

साउन १० गते  शनिबार नेता सुनिल थापा लगायतका केन्द्रीय नेताले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेपछि त्यसको प्रभाव झापामा प्रत्यक्ष रुपमा परेको निकटवर्तीहरू बताउँछन्।

पार्टीलाई राप्रपामा विलय गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै राप्रपा (संयुक्त) को  झापा जिल्ला समितिले  स्वतन्त्र बस्ने घोषणा गरेको थियो।                  

उनीहरूले स्वतन्त्र बस्ने घोषणा गरे पनि राजनीतिक घटनाक्रम एकाएक मोडिएको छ। आज बिहानैबाट उनीहरू सबै नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा हुन थालेको छ।

राष्ट्रिय राजनीतिलाई आत्मसात गर्न नसकेको र पार्टी पंक्तिमा अनुशासन र वैचारिक स्खलन भएको, पार्टी आदर्श र सिद्धान्तबाट विचलन भएको भन्दै  उनीहरूले राप्रपा (संयुक्त)  त्यागेका थिए।

राप्रपा (संयुक्त) को सिंगो जिल्ला समितिलाई कांग्रेसमा प्रवेश गराउने विषयमा छलफल भइरहेको नेपाली कांग्रेस झापा सभापति उद्धब थापाले बताए।  उनले बिना सर्त उनीहरू कांग्रेसमा प्रवेश गर्ने अन्तिम निर्णय भइसकेको जानकारी दिए।

पार्टी छाडेका राप्रपा (संयुक्त) का जिल्ला अध्यक्ष ओमप्रकाश मिश्रले ३ हजारभन्दा बढीलाई सामूहिक रुपमा कांग्रेसमा प्रवेश गराउने तयारी भइरहेको जनाएका छन्।

पार्टी परित्याग गर्ने प्रवक्ता लक्ष्मी ढकालले आफूहरू लोकतन्त्रप्रति आस्था राख्ने भएकाले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमै प्रवेश गर्ने विषयमा छलफल भइरहेको बताए। उनले  पार्टी परित्याग गर्नेहरुको भेला बोलाउने र  सामूहिक रुपमा पार्टी प्रवेश गर्ने योजना बनाएको सुनाए।                    

कांग्रेसमा प्रवेश गर्ने विषयमा छलफल भइरहेपनि नवप्रवेशीलाई कांग्रेसले दिने पदको बारेमा टुंगो लागि नसकेको ढकालले बताए।  जिल्ला अध्यक्ष मिश्र, उपाध्यक्षहरू चन्द्रबहादुर योङया, विष्णुबहादुर धिमाल, सचिव निरबहादुर कार्की, सहसचिव युद्धप्रसाद लामिछाने, प्रवक्ता ढकाल र कोषाध्यक्ष कुलबहादुर धिमालले हिजो पार्टी परित्याग गरेका थिए। पार्टी  परित्याग गर्नेमा  २० जना जिल्ला सदस्यहरू  छन्।

त्यसैगरी १ नम्बर क्षेत्रीय अध्यक्ष प्रदिप राजवंशी, २ नम्बर क्षेत्रीय अध्यक्ष मनहरि चम्लागाई, ३ नम्बर क्षेत्रीय अध्यक्ष साहिला हेमरम, ४ नम्बर क्षेत्रीय अध्यक्ष केशव राजवंशी र ५ नम्बर क्षेत्रीय अध्यक्ष भुवन बुढाथोकीले पार्टी छोडेको घोषणा गरेका छन्।


Leave a Reply

Your email address will not be published.