‘मौन बस्दा झन् ‘शोषण’ र ‘दुर्व्यवहार’ हुन्छ, बोल्नैपर्छ’

‘मौन बस्दा झन् ‘शोषण’ र ‘दुर्व्यवहार’ हुन्छ, बोल्नैपर्छ’

नेपाली चलचित्र क्षेत्रमा अहिले एउटा प्रकरण चर्चामा छ– ‘साम्राज्ञीविरुद्ध भुवनको मुद्दा’

भुवनले साम्राज्ञीविरुद्ध १० करोड क्षतिपूर्ति माग गर्दै मुद्दा हालेका थिए। 

खासमा साम्राज्ञीको डेब्यु फिल्म ‘ड्रिम्स’ मा उनले भोगेको ‘दुर्व्यवहार’ लाई लिएर उनले एउटा भिडियो सार्वजनिक गरेकी थिइन्। त्यसमा लामो समयसम्म भुवन दोहोरी खेलिरहे। अन्तमा मुद्दा हालिदिए। 

त्यसपछि अहिले बहस सुरु भएको छ–  ‘फिल्मी क्षेत्रमा हुने शोषण तथा दुव्र्यवहारबारे बोल्ने कि नबाल्ने?’

यो प्रकरणपछि साम्राज्ञीले आयोमेलसँग पनि भनेकी थिइन्– ‘फरक यत्ति हो, अरु बोल्दैनन्, म बोलेँ।’

आयोमेलले यस विषयमा पाठकमाझ एउटा सर्वेक्षण गरेको थियो। हरेक साता आयोमेलले गर्दै आएको यो सर्वेक्षणमा यसपालि विषय दिइएको थियो– ‘नेपाली फिल्मी क्षेत्रमा भइरहने ‘शोषण’ र ‘दुव्र्यवहार’ लाई के भन्नुहुन्छ?’

यो सर्वेक्षणमा सहभागी अधिकांशले मौन बस्न नहुनेमा आफ्नो मत दिएका छन्। सर्वेक्षणमा सहभागीले चारवटा विकल्पमा मत दिएका छन्। 

फिल्मी क्षेत्रमा हुने शोषण र दुव्र्यवहारलाई १८.१८ प्रतिशतले ‘सामान्य’ भएको मत दिएका छन्। त्यस्तै ५४.५५ प्रतिशतले ‘मौन बस्दा झन् शोषण हुन्छ’ भन्नेमा मत दिएका छन्। यो सबैभन्दा धेरैको मत हो। 

त्यस्तै ‘नयाँलाई हेप्ने चलन’ हुन्छ भन्नेमा ९.०९ प्रतिशत सहभागी सहमत देखिएका छन् भने १८.१८ प्रतिशत सहभागीले यस्तो शोषण हुनुमा ‘चर्चित हुँ भन्ने घमण्ड’ ले भूमिका खेल्नेमा सहमत देखिएका छन्। 

सर्वेक्षणमा आयोमेलका करिब ३ सय पाठकले सहभागिता जनाएका छन्। 

त्यस्तै आयोमेलको फेसबुक सर्वेक्षणमा सहभागीमध्ये ७८ प्रतिशतले मौन बस्दा झन शोषण हुनेमा मत व्यक्त गरेका छन् भने २२ प्रतिशतले ‘नयाँलाई हेप्ने चलन’ भएको बताएका छन्।

आयोमेलकै ट्विटर सर्वेक्षणमा सहभागिता जनाएकामध्ये ५० प्रतिशतले भने ‘चर्चित हुँ भन्ने घमण्ड’ का कारण यस्तो भइरहेको मत व्यक्त गरेका छन्। त्यस्तै ३७.५ प्रतिशतले ‘मौन बस्दा झन् शोषण हुन्छ’ भनेका छन्। १२.५ प्रतिशतले फिल्मी क्षेत्रमा हुने यस्ता घटनालाई ‘सामान्य हो’ भनेका छन्। र, ‘नयाँलाई हेप्ने चलन’ मा कसैले पनि मत दिएका छैनन्। 

चलचित्रमात्रै होइन, हरेक क्षेत्रमा अहिले नयाँ पुस्ताको एउटा ‘छलाङ’ देखिएको छ। यो नयाँ पुस्ता आफूलाई लागेको कुरा बोल्न डराउँदैन। 

आफ्ना भोगाइ अनि पीडा पोख्ने ठाउँ त सामाजिक सञ्जाल छँदैछ। 

हुन त अलि ‘ढिला भयो’ भनेर साम्राज्ञीको आलोचना नभएको होइन तर कम्तिमा उनले बोल्ने हिम्मतसम्म गरिन्। 

उनी बोलिन्, कति वर्षअघिको कुरा कति वर्षपछि बोलिन् त्यसले खासै अर्थ राख्दैन। 

बरु उनको भोगाइ महत्वको कुरा हो। 

त्यस्ता कुरा यसअघि किन आएनन्? यो महत्वपूर्ण कुरा हो। 

साम्राज्ञीकै भाषामा ‘भोग्न त धेरैले भोगे होलान्, कोही बेइज्जत हुने डरले बोलेनन्, कोही फेरि आफूले फिल्ममा काम नपाउने हो कि भनेर बोलेनन्।’

वा हुनसक्छ बोल्न नचाहेर बोलेनन्, सबै बोल्नैपर्छ भन्ने जरुरी पनि भएन। 

वरिष्ठ कलाकार मिथिला शर्मा भन्छिन्– ‘जुन बेला घाउ लाग्छ, जुन बेला दुख्छ चिच्याउने त्यही बेला हो, बोल्ने त्यही बेला हो।’

उनका अनुसार कतिपयले अहिले अधिकांश ‘चर्चामा आउने महत्वाकांक्षा’ ले बोल्छन्, कोही साँच्चिकै ‘भोगाइ’ बोल्छन्।

‘तर, जो जे बोले पनि कसैलाई कुनै आरोपमात्रै लगाउनुभन्दा पनि त्यसलाई निष्पक्ष रूपमा हेरिनुपर्छ र त्यही समयमा त्यसको सत्यतथ्य बाहिर आउनुपर्छ,’ उनले भनिन्, ‘नत्र, त्यो चर्चाकै लागि मात्र फैलाइएको अफवाह हो भन्ने ठाउँ पनि रहन्छ।’ 

फिल्मी क्षेत्रलाई त आफ्नो परिवारजस्तै मान्नुपर्ने शर्माको भनाइ छ र उनले फिल्मी क्षेत्रबाट लिएको एउटा महत्वपूर्ण अनुभव पनि यही ‘पारिवारिक वातावरण’ नै हो। 


Leave a Reply

Your email address will not be published.