लगानी बोर्डका अध्यक्षको नियुक्ति बदर माग गर्दै अदालतमा रिट
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति बदर गर्न माग गर्दै अदालतमा रिट परेको छ।
भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै उच्च अदालत पाटनमा अधिवक्ता जय बहादुर झुजेलले रिट दायर गरेका हुन्।
नेपालमा सञ्चालन गरिने परियोजनाहरूलाई संरक्षण तथा सुरक्षा दिने कानुनी व्यवस्थाको उल्लंघनसमेत हुने गरी बीचैमा परियोजना अलपत्र तथा जोखिममा पार्ने कार्यमा संलग्न व्यक्तिलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरिएको भन्दै झुजेलले दायर गरेको रिटमा निजी साझेदारी लगानी ऐन २०७५ को मक्सद एवं भावना विपरीत भएको उल्लेख छ।
रिटमा निष्पक्ष अनुभवी, दक्ष, स्वच्छ छवि भएका योग्य व्यक्तिलाई छनोट एवं सिफारिस गरी नियुक्ति गर्नु भनी सरकार र सिफारिस समितिको नाममा परमादेशलगायतका उपयुक्त आदेशको पनि माग गरिएको छ ।
गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको सीईओको रुपमा नियुक्त गरेको थियो ।