प्रहरीले जाहेरी लिएन, दर्ता गरेन? अब सिधै हेडक्वार्टरमा गुनासो गर्न सकिने 

प्रहरीले जाहेरी लिएन, दर्ता गरेन? अब सिधै हेडक्वार्टरमा गुनासो गर्न सकिने 

प्रहरीसँग सम्बन्धित गुनासो रहेमा अब जनताका लागि टोल फ्रि नम्बर जारी गरिएको छ। 

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय निरीक्षणालयले प्रहरी कर्मचारीसँग सम्बन्धित गुनासो कम गर्न जनताका लागि टोल फ्रि नम्बर जारी गरेको हो। 

अब जनताले प्रहरीले चित्तबुझ्दो काम नगरेको लागेमा सिधै १११३ नम्बरमा फोन गरेर गुनासो टिपाउन पाउने छन्। 

प्रधान कार्यालयका अनुसार यसमा इमेल तथा टेलिफोन गरेर पनि गुनासो सुनाउन पाइने छ। 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी सेवालाई प्रभावकारी र गुनासोरहित बनाउन योजना ल्याएका हुन्। 

प्रहरी सेवा प्राप्त नभए, कर्तव्यप्रति उदासिन रहे, जाहेरी दरखास्त लिन नमाने वा दर्ता नगरे, व्यावसायिक रुपमा अनुसन्धान नगरेको लागे, कानुनविपरीत थुनामा राखे, सेवाग्राहीलाई दुर्व्यवहार गरे, आर्थिक लाभ लिन खोजे, पदीय दुरुपयोग गरी अनावश्यक दबाब दिए अब सिधै फोन गरेर सुनाउन पाइने छ। 

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतका अनुसार केन्द्रमा प्रहरी निरक्षणालय शाखाले यसको नेतृत्व गरेको छ। आवश्यकताअनुसार यसले प्रदेश वा जिल्ला प्रहरीलाई निर्देशन दिन सक्छ।

त्यहाँबाट पनि गुनासो सम्बोधन नभए आफैं सक्रिय भएर कार्य थाल्ने छ। कमजोरी देखिए उक्त शाखाले कारबाहीका लागि कानुन शाखालाई सिफारिस गर्छ। 

‘प्रहरीलाई चुस्त दुरुस्त राख्न र गुनासोरहित बनाउन यस्तो अभियान लागू गरिएको हो, अब प्रहरीले जाहेरी दरखास्त लिन नमाने त्यसको चित्तबुझ्दो कारण खुलाइदिनु पर्छ, सम्बन्धित ठाउँमा जान भनी प्रहरीले जनतालाई ठाउँ देखाइदिनुपर्छ,’ कडायतले भने।


Leave a Reply

Your email address will not be published.