बुद्धबारे भारतीय विदेशमन्त्रीले गरेको प्रचार आपत्तिजनक छ : माधव नेपाल

बुद्धबारे भारतीय विदेशमन्त्रीले गरेको प्रचार आपत्तिजनक छ : माधव नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले गौतमबुद्धबारे भारतीय विदेशमन्त्री यस जयशंकरले दिएको अभिव्यक्ति तथ्यहीन र भ्रामक रहेको भन्दै आपत्ति प्रकट गरेका छन्। 

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तरक्रियामा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका हुन्।

नेता नेपालले ट्वीट गर्दै नेपालको लम्बिनीमा जन्मिएका बुद्धलाई महान भारतीय भन्दै गरेको प्रचार आपत्तिजनक रहेको बताएका हुन्। उनले ट्वीटमा भनेका छन्, ‘भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम वुद्धलाई ’महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ।’ 

लगातार तीनवटा ट्वी गर्दै नेता नेपालले ऐतिहासिक तथ्य, प्रमाण र पूरातात्विक अध्ययनबाटसमेत बुद्ध नेपालमा जन्मिएको पुष्टि भइसकेका बेला दुई देशबीको सम्बन्धमा प्रतिकूल असर पार्ने कुरामा ख्याल गर्न ध्यानाकर्षण गराएका छन्। 

‘ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा–नरहँदै वेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु’, उनले दोस्रो ट्वीटमा भनेका छन्। 

यस्तै नेपालले तेस्रो ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहँदा नेपालको सदंसदमै बुद्ध नेपालमा जन्मिएका हुन् भनेर स्पष्ट उल्लेख गरेकोमा अहिले भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यत्ति आउनु दुःखद रहेको उनको भनाइ छ। 

तेस्रो ट्वीटमा भनेका छन्, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसद्मै ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद् रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु।’


Leave a Reply

Your email address will not be published.