जनकपुरमा थप सात दिन निषेद्याज्ञा

जनकपुरमा थप सात दिन निषेद्याज्ञा

जनकपुरमा लागू भएको निषेधाज्ञा एक साताको लागि थप गरिएको छ। उपमहानगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि गत मंगलबारदेखि लागू भएको निषेधाज्ञा थप सात दिनका लागि बढाइएको हो।

आइतबार बसेको सुरक्षा समितिको बैठकले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र थप एक साताका लागि निषेधाज्ञा बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार निषेधाज्ञाको अवधि साउन ३२ गते आइतबार राति १२ बजेसम्म थप भएको हो।

सुरक्षा समितिको बैठकले निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न समयसिमा तोकेको छ। बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म निजी क्षेत्र र दिउँसो २ बजेदेखि ५ बजेसम्म सरकारी कारोबार गर्ने गरी बैंक तथा वित्तिय संस्थाका लागि समय तोकिएको छ। 

यद्यपि अत्यावश्यक कारोबार सम्बन्धमा शाखा प्रबन्धकलाई व्यवस्थापन गर्ने अधिकार दिइएको छ। सामाजिक सुरक्षा भत्तासम्बन्धी कार्य शुक्रबार एक दिनमात्र गर्ने निर्णय बैठकले गरेको छ।

यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय/नापी कार्यालयको सेवा प्रवाह स्थानीय तहहरुलाई आलोपालो गरी सेवा प्रदान गर्न सम्बन्धित कार्यालयलाई व्यवस्थापन गरी जानकारी सार्वजनिक गर्न भनिएको छ।

सुरक्षा समितिको बैठकले जनकपुर उपमहानगरपालिकाको पूर्वमा कपिलेश्वर बसपार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको औरही पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी (दुधमति पुल), दक्षिणमा बनौली मोड, बसहिया रोडको सोनासती मन्दिर र प्रदेशसभा जाने मोडसम्म निषेद्याज्ञा लगाउने निर्णय गरेको छ।

निषेद्याज्ञा अवधिभर औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, सञ्चार सेवा, बैंकिङ्ग सेवा, खानेपानी, इन्धन, विद्युत सेवालगायतका बाहेक अन्य सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको छ।

सर्लाहीमा पनि लकडाउन

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सोमबारदेखि सर्लाहीमा पनि लकडाउन हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो।

समुदायस्तरमा कोरोना फैलिइसकेको भन्दै सर्वपक्षीय बैठकले एक सप्ताहको लागि लकडाउन गर्ने निर्णय गरेको बताइएको छ। लकडाउन पालना गराउन सबै स्थानीय तह, राजनैतिक दल, नागरिक समाजलगायत सबै पक्षलाई अनुरोध गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.