उपत्यकामा यातायात र फुटपाथ व्यापार बन्द गर्न माग 

उपत्यकामा यातायात र फुटपाथ व्यापार बन्द गर्न माग 

उपत्यका नगरपालिका फोरमले कोरोना संक्रमण रोकथामका लागि राजधानीमा सार्वजनिक यातायात सञ्चालनमा तीन हप्ता रोक लगाउन सरकारसँग आग्रह गरेको छ। 

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललाई भेट्न सिंहदरबार पुगेका फोरमका पदाधिकारीले नाकामा समेत कडाइ गर्नुपर्ने सुझाएको हो। 

नगरपालिका फोरमका सचिव रहेका मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण दर तीव्र भैरहेको स्थितिलाई ध्यानमा राखी पुनः जोरबिजोर प्रणाली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता रोक लगाउनुपर्ने सुझाव दिएका छौं।’ 

उपत्यकामा तरकारी व्यापारलाई साँझबिहान मात्र खोल्न दिने, निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई ३ हप्ताका लागि निषेध गर्न सुझाव दिइएको समेत उनले बताए। 

फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारको विरोध र समर्थनमा र्‌याली, भेला अनशन, जुलुसलगायतका गतिविधिमा कडाई गर्न सुझाव दिइएको बताए। 

एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने सुझाव दिएको उनले बताए। फोरमको बैठक सोमबार बस्दैछ।


Leave a Reply

Your email address will not be published.