प्रहरी महानिरीक्षकद्वारा चार एआइजी र सातै प्रदेशका डिआइजीसँग कार्यसम्पादन सम्झौता 

प्रहरी महानिरीक्षकद्वारा चार एआइजी र सातै प्रदेशका डिआइजीसँग कार्यसम्पादन सम्झौता 

नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवम् आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना-२०७७ सार्वजनिक गरिएको छ। 

नेपालको संविधान बमोजिम, नेपाल प्रहरी संगठनको पुन:संरचना, सुदृढीकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासको लागि स्पष्ट मार्गनिर्देशन गर्नु कार्ययोजनाको उद्देश्य हो।   

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त कार्ययोजना सार्वजनिक गरे। साथै उनले उक्त कार्ययोजना कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्न स्थापित ‘कार्ययोजना कार्यान्वयन कक्ष’को विद्युतीय माध्यमबाट शुभारम्भ गरे। 

सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर, प्रहरी प्रधान कार्यालयस्थित विभागीय प्रमुखहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखसँग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरे।

 उनले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग समेत भिडियो कन्फ्रेन्समार्फत् कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरे।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कार्य योजनाको उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै १४ वटा विशेष लक्ष्य र १ सय ५७ वटा क्रियाकलापहरू समेटेर तयार गरिएको कार्ययोजनाले आगामी दिनमा नेपाल प्रहरीलाई मार्ग निर्देशन गर्ने बताए। 

नेपाल प्रहरीलाई पद्धतिगत रुपमा अग्रगमनमा लैजान कार्ययोजना सहयोगी हुने विश्वास उनले व्यक्त गरे। सधैंजसो आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको प्रहरी सेवा रणनीतिक, योजनाबद्ध, निरन्तर र परिणाममुखी हुनुपर्ने अवधारणा अनुरुप कार्ययोजना तय गरिएको उनले बताए। 

प्रहरी कर्मचारीले कार्यसम्पादनको क्रममा पवित्र, विवेकशील र विनयी भई अगाडि बढ्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘संयमित हुनु जरुरी छ, तर डराउनु पर्दैन।’

 विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड-१९ लाई नेपाल प्रहरीले चुनौतीको रुपमा सामना गरिरहेको अवस्थामा संक्रमित प्रहरी कर्मचारीको आत्मबल बढाउनका लागि विशेष पहल गर्न सम्बन्धित प्रमुखहरूलाई उनले निर्देशन दिए। 

प्रदेश प्रमुखहरूले एक-आपसमा समन्वय गर्नुपर्ने उल्लेख गर्दै प्रदेश अनुसारको मौलिक कार्ययोजना बनाई प्राथमिकताका साथ अगाडि बढ्न क्षेत्रीले निर्देशन दिए। सीमा क्षेत्रको तस्करी रोक्न सरोकारवाला निकायहरूसँग समन्वय गरी तत्काल कार्यान्वयनमा लैजान समेत उनले निर्देशन दिए।


Leave a Reply

Your email address will not be published.