पृथ्वीनारायण क्याम्पसको मूल गेटमा तालाबन्दी

पृथ्वीनारायण क्याम्पसको मूल गेटमा तालाबन्दी

पृथ्वीनारायण क्याम्पसको मूल गेटमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ। समान कामको समान ज्याला माग्दै क्याम्पसका आंशिक शिक्षकहरुले मूल गेटमा आइतबारदेखि ताला लगाएका हुन्। 

चरणवद्ध आन्दोलन गरे पनि त्रिभुवन विश्वविद्यालय र क्याम्पस प्रशासन गैरजिम्मेवार बनेको आंशिक शिक्षकको आरोप छ। नयाँ क्याम्पस प्रमुखमा प्राडा सरोज कोइराला आएपछि आशिंकका मागलाई २२ साउनसम्म समाधान गर्ने गरी २ दुई बुँदे लिखित प्रतिवद्धता जनाएका थिए। 

रिक्त दरवन्दी तत्काल ल्याउने र आशिंक शिक्षकलाई नियमित गर्ने प्रतिवद्धता जनाए पनि पूरा नगरेपछि पुनः आन्दोलन सुरु गर्नुपरेको आशिंक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले बताए। ‘हामी विगत १४ वर्षदेखि श्रम शोषणमा परेका छौं। अब पनि हाम्रा माग समाधान गरिएन भने हामी कुनै पनि हालतमा पछि हट्नेवाला छैनौं,’ उनले भने। 

आशिंक शिक्षकको माग जायज रहेको र समाधानका लागि पहल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ। क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले समस्या समाधानका लागि केन्द्रमा रजिस्ट्रार र रेक्टरसँग कुरा भएको जानकारी दिए। उनले भने, ‘आशिंक बिना क्याम्पस चलाउन असम्भव छ, अधिकतम कक्षा भार आशिंकले लिनुभएको छ। माग सम्बोधन गर्न केन्द्रमा कुरा भएको छ।’

संघका अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकले लिने गरेका छन्। पढाएको दिनको मात्रै न्यून ज्यालामा काम गरिरहेका शिक्षकहरु लकडाउनपछि भोकै परेको पनि उनको भनाइ छ। क्याम्पसमा हाल दुई सय २० को संख्यामा आंशिक शिक्षक छन्। 


Leave a Reply

Your email address will not be published.