चार किल्ला सिल गरिएपछिको सुनसान नेपालगन्ज

चार किल्ला सिल गरिएपछिको सुनसान नेपालगन्ज

नोवेल कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालगन्ज सिल गरीएको छ। शनिबार राती १२ बजेदेखि मंगलबार राती १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिकाका चारै किल्ला सिल गरिएको हो।

नेपाली सेनाको अगुवाईमा सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरी नगर क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। बाँकेमा निषेधाज्ञा जारी गरीएपनि त्यसको पूर्ण रुपमा पालना नभएको देखिएपछि कोरोना संक्रमणको उच्च जोखिममा रहेको नेपालगन्ज क्षेत्रलाई सिल गरिएको प्रजिअ कुरुम्वाङले बताएका छन्।

शुक्रबार कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले श्रावण २४ गते राती १२ बजेदेखि श्रावण २७ गते राती १२ बजेसम्मका लागि नेपालगन्जका उपमहानगरका चारै किल्ला सिल गर्ने निर्णय गरेको थियो।

यस अवधिमा नेपालगन्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ। साथै हिड्डुल तथा व्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

प्रशासन कार्यालयका अनुसार नेपालगन्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखी गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखी बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्ण रुपमा सिल गरिएको हो। 

अहिले त्यस क्षेत्रमा ब्यापाक मात्रामा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरीएको छ। सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ। 

कोहलपुर नगरपालिकाका सबै सेवा बन्द

बाँकेमा जारी गरिएको निषेधाज्ञाका कारण यहाँको जनजिवन प्रभावित भएको छ। निशेषधाका कारण ब्यापार ब्यवसाय, संघसंस्था, वित्तिय संस्था तथा सरकारी कार्यालयहरूको सेवा प्रभावित हुँदै आएको छ।

यसैबिच कोहलपुर नगरपालिकाले आगामी श्रावण २७ गतेसम्मकालागि आफू मातहतका सबै कार्यालयहरूको सेवा बन्द गरेको छ। कोहलपुर नगरपालिकाका अत्यावश्यक सेवा बाहेक विषयगत शाखारउपशाखा र सम्पूर्ण वडा कार्यालयहरूबाट प्रवाह भइरहेका सेवाहरू २७ गते सम्मकालागि बन्द गरीएको हो। 

नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलले आइतबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सबै सेवाहरू बन्द गरिएको जनाएका हुन्। बाँकेमा २७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।


Leave a Reply

Your email address will not be published.