गोरु बेचेर नातिनीको उपचार गर्न बुटवल

गोरु बेचेर नातिनीको उपचार गर्न बुटवल

प्यूठानको नौवहिनी गाउँपालिका ८ लुप्लुङकी नौ वर्षीय सुस्मिता विक दुई वर्षकी हुँदा आमाले छाडेर दोस्रो विवाह गरिन्। बुवाले पनि दोस्रो विवाह गरेर रोजगारीका लागि भारत गए। 

अहिले उनलाई सहयोग गर्ने बाआमा छैनन्। आमाबुवाले छाडेपछि उनी बेसहारा भइन्। उनलाई अहिले जेनतेन हजुरबुवा र हजुरआमाले पालनपोषण गर्दै आएका छन्। 

बाल्यकालमै जन्मदिने बुवा आमाको माया पाउन सकिनन् सुस्मिताले। 

शुक्रवार उनीमाथि फेरि अर्को बज्रपात भयो। 

घर लिप्ने पहेँलो माटो लिनका घर नजिकैको सिर्से भन्ने स्थानमा गएकी थिइन्। माटो खन्दै गर्दा उनलाई माटोको ढिस्कोले पुर्यो। 

माटो खन्दै गर्दा ढिस्को खसेपछि पुरिएकी उनको दुवै खुट्टा भाँचिए। उनीसँगै गाउँकी एक महिला पनि पुरिइन्। शुक्रवार दिउँसो ढिस्कोले पुरेपछि दुवैजना घाइते भए। 

ढिस्कोले पुरिएर घाइते भएका सुस्मिता र छिमेकी रामकली उपचारका लागि प्यूठानको जिल्ला अस्पताल विजुवार पुगे। सामान्य उपचारपछि दुवै जनालाई प्यूठान अस्पतालले बुटवल रिफर गरिदियो। 

विहान बेलुकाको छाक जुटाउनै मुश्किल पर्ने यो परिवारलाई बुटवलमा नातिनीको उपचार कसरी गर्ने? एउटा अर्काे संकट आइपर्‌यो।

घरमा रहेका हल गोरुमध्ये हजुरआमाले एउटा गोरु ५ हजारमा बेचिन् र घाइते नातिनी बोकेर बुटवल आइन्। 

विहान बेलुकाको छाक जुटाउनै मुश्किल पर्ने यो परिवारलाई लाखौँ खर्च गरेर नातीनीको उपचार गर्नेकुरा ‘सपना’ जस्तै लाग्छ। 

रामकली गाडीको बन्दोवस्त गरेर थप उपचारका लागि बुटवल पुगिन्। 

होटल व्यवसायी संघ प्यूठानको एम्वुलेन्सले उनलाई निःशुल्क प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि पुर्याए पनि उपचार गर्न पैसाकै कारण सम्भव देखिएन्। र उनको भर्ना भएन । 

‘शनिवार राति ९ बजे बुटवल आइपुगेका थियौँ’, ५१ वर्षीया हजुरआमा मुसी विकले भनिन्, ‘डाक्टरले खुट्टाको अप्रेशन गर्नुपर्छ भन्नुभयो, पैसा नै छैन कसरी गराउनु?’ 
उनले ठूलो गोरु बेचेर ल्याएको ५ हजार रुपैयाँ मात्र आफूसँग भएको सुनाइन्। 
‘सानोठूलो गरी दुईवटा गोरु पालेका थियौ’ ,उनले भनिन्,‘सानो गोरु जोत्नसक्ने थिएन्, ठूलो गोरु बेचेर नातिनीको उपचार गर्न आएकी हुँ।’

पैसा खर्च गरेर उपचार गर्ने संभव नभएपछि बुटवल आएका उनीहरु अस्पतालमै निराश बनेर बसे। सुस्मिता लुप्लुङ माध्यमिक विद्यालयको कक्षा दुईमा पढ्दै छिन्। 

लुम्विनी सिटीमा निःशुल्क उपचार

आर्थिक अभावले उपचार नपाएर छटपटिएकी सुस्मिताको पूरै उपचार बुटवलमा रहेको लुम्विनी सिटी अस्पतालले गर्ने भएको छ। 

अस्पतालका व्यवस्थापक बसन्त जिसीको पहलमा उनी सहित अस्पतालले खर्च व्यहोर्ने भएको हो। जिसी प्यूठानका स्थानीय हुन्। 

प्यूठान निवासी जिसीले भने, ‘सामाजिक उत्तरदायित्व सम्झेर सुस्मिताको उपचारमा पहल गरेको हुँँ।’

उनले गाउँघरमा भएका बास्तविक गरिवहरुको उपचारमा आफूले सक्दो पहल गर्ने समेत बताए। 

जिसीका अनुसार सुस्मिताको उपचार शुरु भएको छ। उपचारमा संलग्न अर्थोपेडिक सर्जन डा.राहुल श्रेष्ठले उनका उपचार शुरु भएको र हप्तादिनमा उनको डिस्चार्ज हुनसक्ने बताए। व्यवस्थापक जिसीका अनुसार उनको उपचारमा झण्डै ढाई लाख रुपैयाँ खर्च हुने। 

सुस्मिता विककी हजुरआमा मुसी विकले नातीनीको उपचार कसरी गर्ने भन्ने चिन्ताले मन पोलेका बेला लुम्बिनी सिटी अस्पतालले ठूलो गुन लगाएको बताइन। 

‘त्यति धेरै लाख लाग्ने रहेछ’ विकले भनिन्, ‘गोरु बेचेको ५ हजारले त गरिबले कहाँको उपचार पाउनु?’

नातिनी छिट्टै निको भएको हेर्ने मन छ, उनलाई। 


Leave a Reply

Your email address will not be published.