देउवा सभापति नभई ‘सभापतिका उम्मेदवार’ जस्ता भइरहेका छन् : डा. रिजाल 

देउवा सभापति नभई ‘सभापतिका उम्मेदवार’ जस्ता भइरहेका छन् : डा. रिजाल 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन नजिकिँदै जाँदा विभागमा धमाधम मनोनयन गरेर पार्टीभित्र तिक्तता ल्याउन खोजेको आरोप लगाएका छन्। 

सभापति देउवाले आइतबार राति पार्टीका केन्द्रीय विभागमा पदाधिकारी मनोनयन गरेका थिए। उनले हालसम्म १० विभागलाई पूर्णता दिइसकेका छन्। 

आयोमेललाई प्रतिक्रिया दिँदै छाया सरकारका अर्थमन्त्रीसमेत रहेका नेता रिजालले ‘सभापति देउवा सभापति नभई आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारको रूपमा प्रस्तुत भइरहेको’ आरोप लगाए। कांग्रेसको आगामी महाधिवेशन फागुन ७ का लागि तय भएको छ। 

‘हामी यो प्रक्रियामा सहभागी छैनौं, महाधिवेशनको मुखमा मनोनयन नगर्न भनेर ज्ञापनपत्र पनि दियौं, तर सुनुवाइ भएको छैन,’ उनले भने, ‘उहाँको ध्यान पार्टीलाई बलियो बनाउने भन्दा पनि आगामी महाधिवेशनबाट सभापति बन्नेमा छ।’ 

सभापति देउवा यसरी एकलौटी रूपमा अगाडि बढ्दा पार्टीमा थप तिक्तता आउने र सरकारको ‘अधिनायकवाद’ को विरोध गर्ने नैतिक बल पनि कमजोर हुने रिजालको ठम्याइ छ।

सभापति देउवाले पार्टीका विभिन्न विभागका पदाधिकारी मनोनयन गरिरहेकाप्रति वरिष्ठ नेता रामचन्द्र पौडल, महामन्त्री शशांक कोइराला समूह असन्तुष्ट छ। शशांकले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा गरिसकेका छन्।


Leave a Reply

Your email address will not be published.