लगानी बोर्डको सिइओमा भट्टको नियुक्तिविरुद्ध उच्च अदालतमा रिट
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टको नियुक्तिविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको छ।
भट्टको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका हुन्। भुजेल रिट लिएर आइतबार पनि अदालत पुगेका थिए।
तर, व्यहोरा र प्रक्रिया नपुगेको भन्दै अदालतले फर्काइ दिएको थियो। उच्च अदालत पाटनका प्रवक्ता सम्भुप्रसाद रेग्मीले भट्टको नियुक्तिविरुद्ध साेमबार रिट दर्ता भएको पुष्टि गरे।
नेपालमा सञ्चालन गरिने परियोजनालाई संरक्षण तथा सुरक्षा दिने कानुनी व्यवस्थाको उल्लंघनसमेत हुने गरी बीचैमा परियोजना अलपत्र तथा जोखिममा पार्ने कार्यमा संलग्न व्यक्तिलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरिएको भन्दै भुजेलले दायर गरेको रिटमा निजी साझेदारी लगानी ऐन २०७५ को मक्सद एवं भावना विपरीत भएको उल्लेख छ।
रिटमा निष्पक्ष अनुभवी, दक्ष, स्वच्छ छवि भएका योग्य व्यक्तिलाई छनोट एवं सिफारिस गरी नियुक्ति गर्नु भनी सरकार र सिफारिस समितिको नाममा परमादेशलगायतका उपयुक्त आदेशको पनि माग गरिएको छ। गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको सिइओमा नियुक्त गरेको थियो।