हङकङका लोकतन्त्र समर्थक मिडिया धनाढ्य जिमी पक्राउ

हङकङका लोकतन्त्र समर्थक मिडिया धनाढ्य जिमी पक्राउ

हङकङका व्यापारी तथा कट्टर लोकतन्त्र समर्थक जिमी लाइ पक्राउ परेका छन्। बेइजिङले जारी गरेको नयाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत जिमीले प्रकाशन गर्ने पत्रिकाको कार्यालयमा पनि प्रहरीले छापा मारेको छ।

कार्यकर्ता तथा पत्रकारले हङकङबाट प्रकाशित हुने सबैभन्दा ठूलो लोकतन्त्र समर्थक दैनिक पत्रिका एप्पल डेलीमा प्रहरी छापा र जिमी तथा अन्य वरिष्ठ अधिकारी पक्राउको निन्दा गर्दै उक्त घटनालाई ‘प्रेस स्वतन्त्रता आधिकारिक रूपमा मरेको दिन’ को संज्ञा दिएका छन्।

लोकतन्त्र समर्थक आन्दोलनका प्रवद्र्घक ७१ वर्षीय मिडिया धनाढ्य (टाइकुन), उनका छोरासहित ६ जनालाई सोमबार बिहान ‘विदेशी सेनासँगको मिलोमतो’ र धोखाधडी गरेको आरोपमा पक्राउ गरिएको थियो।

‘हाम्रो अनुसन्धान जारी छ, पक्राउ पर्ने व्यक्तिको संख्या बढ्न सक्नेछ,’ प्रहरीले भन्यो।

जिमीको गिरफ्तारी अप्रत्यासित नभए पनि यसले हङकङवासीलाई चिन्तित बनाएको छ। बेइजिङले देशद्रोह र पृथकतावादी गतिविधि तथा विदेशी सेनासँग मिलोमतोलाई गैरकानुनी बनाउने राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि हङकङवासी त्रसित छन्।

चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सले सोमबार जिमीलाई ‘दंगा समर्थक’ र उनका प्रकाशनलाई वर्षौंदेखि ‘घृणा जगाउने, अफवाह फैलाउने र हङकङ तथा चीनका अधिकारीको मानमर्दन गर्ने’ भनेको छ।

बेलायती नागरिकसमेत रहेका जिमी नयाँ कानुनअन्तर्गत पक्राउ पर्ने हङकङका सबैभन्दा उच्च व्यक्ति हुन्। यदि विदेशीसँग मिलोमतो सम्बन्धमा लगाइएको अभियोग प्रमाणित भए उनले तीनदेखि १० वर्षसम्मको कैद वा आजीवन कारावास भोग्नुपर्ने छ।


Leave a Reply

Your email address will not be published.