नेपालमा थप चार संक्रमितको मृत्यु, कूल मृतक संख्या ७९ पुग्यो

नेपालमा थप चार संक्रमितको मृत्यु, कूल मृतक संख्या ७९ पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप चार कोरोना संक्रमितले ज्यान गुमाएका छन्। बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ बस्ने ७० वर्षीया एक महिलाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

उच्च रक्तचाप तथा प्यारालाइसिसकी बिरामीको निमोनियाको तथा सेप्टिक सक भई साउन २३ मा नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन्।

सोही दिन बिरामीको स्वाब संकलन गरिएको थियो। अस्पतालमा उपचारको क्रममा साउन २५ दिउँसो ३:१० मा निधन भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।

पर्सा जिल्ला वेदियाहीकी ४५ वर्षीया एक महिलाको पनि साउन २५ मा मृत्यु भएको छ। नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको हो। 

मृतक उच्च रक्तचाप तथा हाइपोथाइराडिजमकी बिरामी रहेकी थिइन्। श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएको मन्त्रालयले जनाएको छ। मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको थियो।

त्यसैगरी, काठमाडौं–बानेश्वर बस्ने ७६ वर्षीय एक पुरुषको साउन २६ मा मेडिकेयर अस्पतालमा संक्रमणले निधन भएको छ। श्वासप्रश्वासमा कठिनाई तथा जिउ दुख्ने समस्या भई उनी साउन २३ मा भेन्टिलेटरमा उपचाररत थिए। मृतकमा निमोनिया, उच्चरक्तचाप तथा मधुमेहको समस्या भएको मन्त्रालयले जनाएको छ।

काठमाडौं–किर्तिपुर बस्ने ६४ वर्षीय पुरुषको साउन २६ मा निधन भएको छ। मिर्गौलाका दीर्धरोगी रहेका ति पुरुष असार ३१ गतेदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए। उनमा साउन ५ गतेनै कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोराना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ।


Leave a Reply

Your email address will not be published.