न्यायाधीश र वकिलको सम्पत्ति छानबिन गर्न माग

न्यायाधीश र वकिलको सम्पत्ति छानबिन गर्न माग

नेपाल बार एशोसियसनले न्यायाधीश र बारका पदाधिकारीको सम्पत्ति पादर्शीरूपमा छानबिन गरी सार्वजनिक गर्न माग गरेको छ। न्यायालयमा भ्रष्टाचार, विकृति र विसंगति मौलाउनुका साथै न्याय प्रणालीमा लेनदनेबाट प्रभावित बनेको निस्कर्ष निकाल्दै बारले न्यायाधीश र बारका पदाधिकारीको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्न माग गरेको हो। 

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई १७ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै बारका पदाधिकारीले आफ्नै सम्पत्तिको छानबिन गरी सार्वजनिक गर्न माग गरेका हुन्। ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘न्यायाधीश र नेपाल बार एशोसियसनका पदाधिकारीको सम्पत्ति पारदर्शी रुपमा छानबिन गरी सार्वजनिक गर्ने व्यवस्था मिलाइयोस्।’ 

यस्तै, न्याय क्षेत्रभित्रका विकृति विसंगति, विचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न नेपाल बारका प्रतिनिधि सम्मिलित एउटा विशेष संयन्त्र अविलम्ब गठनको माग गर्दै नेपाल बारले अदालतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई तत्काल नियन्त्रण गर्नसमेत माग गरेको छ।

बारले नेत्तृत्वसमक्ष न्यायाधीश नियुक्ति, न्यायालयमा हुने सबै प्रकारको राजनीतिक हस्तक्षेप र निषेध अस्वीकार गरिनुपर्ने माग रोखको छ। एउटै प्रकृतिको मुद्दामा सर्वाेच्च अदालतका फरक फरक इजलासबाट फरक आदेश तथा फैसला हुने गरेकोमा एकरुपता कायम गर्नसमेत आग्रह गरेको छ। यस्तै स्वचालित पेशी प्रणाली लागू गर्नसमेत बारले माग गरेको छ।

उच्च र सर्वाेच्च अदालतका केही न्यायाधीशहरुमा पदानुकूलको अनुभव तथा ज्ञानको अभावसमेत रहेको भन्ने गुनासो आइरहेकोले त्यस्ता न्यायाधीशहरुको पहिचान गरी न्याय परिषद्मा हाजिर गराई लामो अवधिको प्रशिक्षण, तालिम र अध्ययनको उचित व्यवस्था गरी पदानुकूलको अनुभव र अध्ययन भएपश्चात मात्र वेञ्च तोक्ने व्यवस्था मिलाउनसमेत बारले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराइएको बारका महासचिव लीलामणि पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 


Leave a Reply

Your email address will not be published.