जनकपुरमा उपचारको क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

जनकपुरमा उपचारको क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

जनकपुरमा आइतबार उपचारको क्रममा एक निजी अस्पतालमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको छ। जनकपुरधाम–४ कदम चोकस्थित विनय तारा फाउन्डेसनमा उपचारको क्रममा मृत्यु भएका अन्दाजी ५० वर्षीय पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको हो।

उक्त अस्पतालमा उपचाररत ति पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

धनुषाको मिथिलाबिहारी नगरपालिका–५ घर भएका उनी विनय तारा फाउन्डेसनमै विगत पाँच महिनादेखि सुरक्षागार्डको रुपमा कार्यरत थिए।

पछिल्लो पाँच दिनदेखि ज्वरो र खोकी भएपछि उनी गाउँकै औषधि पसलबाट औषधि किनेर खाइरहेका थिए। आइतबार बिहान एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि परिवारका सदस्यले उनी कार्यरत विनयतारा फाउन्डेसन अस्पतालमै भर्ना गराएका थिए। अस्पतालमा भर्ना भएको केहीबेरपछि उनको मृत्यु भएको थियो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मृत्युपछि उनको स्वाब परीक्षणका लागि पठाइएको थियो। प्रादेशिक प्रयोगशालामा भएको स्वाब परीक्षणमा सोमबार उनमा कोरोना संक्रमण पुष्टि भएको छ।

उनमा कुनै दीर्घ रोग थिएन। रक्षाबन्धनका लागि विदामा घर गएका थिए। दुई दिनपछि एक्कासी ज्वरो आएको थियो। 

पिसिआर रिपोर्ट आउनु आगावै आइतबार नै परिवारका सदस्यहरूले अन्तिम संस्कार पनि गरिसकेका छन्। उनलाई भर्ना गरिएको विनयतारा फाउन्डेसन अस्पताल सिल गरिएको छ।


Leave a Reply

Your email address will not be published.