ओप्पोको ए-३१ स्मार्टफोन नेपालमा, मूल्य साढे २६ हजार
ओप्पोले नेपाली बजारमा ओप्पो ए-३१ स्मार्टफोन सार्वजनिक गरेको छ।
ओप्पो ए-३१ फ्यान्टासी ह्वाइट (सेतो) र मिस्ट्री ब्ल्याक (कालो) गरी दुई रङमा स्मार्टफोन सार्वजनिक गरेको हो।
७२०/१६०० पिक्सेलसहितको ६.५ इन्च वाटरड्रप डिस्प्ले र ८९ प्रतिशत स्क्रिन रेसियोसहितको यस फोनले उच्च गुणस्तरीय दृश्यानुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा स्क्रिनको सुरक्षाका लागि गोरिल्ला ग्लास थ्री राखिएको छ।
यसमा रहेको आई प्रोटेक्सन स्क्रिन फिल्टरले हानिकारक ब्लु लाइटबाट प्रयोगकर्ताका आँखालाई सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ। ८.३ मिलिमिटर मोटाइ भएको यो फोन चलाउन सहज हुने कम्पनीले जनाएको छ। फोनको पछाडि तीनवटा लेन्स जडान गरिएका छन्। कम प्रकाश भएका स्थानमा पनि उत्कृष्ट तस्बिर खिच्न फोनको प्रमुख क्यामेरामा १२ एमपी सेन्सर र एफ/१.८ एपर्चर राखिएको छ।
ओप्पोको नयाँ ‘ए’ सिरिजमा १ सय २८ जिबी रोम, चार जिबी -यामसहितको अक्टाकोर प्रासेसर छ। उत्कृष्ट स्मार्टफोन कार्यक्षमता प्रदर्शन गर्न २.३ जिएचजेडको गति लिने क्षमता रहेको यो फोनको ब्याट्री क्षमता ४ हजार २ सय ३० एमएएच छ।
नेपाली बजारमा यो फोनको मूल्य २६ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ।
यसैगरी, कम्पनीले आफ्नो आइओटी उत्पादनअन्तर्गत नेपाली बजारमा ओप्पो एन्को डब्लु-११, एन्को डब्लु-३१ र एन्को एम-३१ पनि सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो अफलाइन रिटेल च्यानलमार्फत उपलब्ध गराउने ओप्पो एन्को डब्लु-११ को बजार मूल्य ३ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरेको छ।
ई-कमर्स प्ल्याटफर्म दराजमार्फत उपलब्ध गराइने दुई उत्पादन एन्को डब्लु-३१ को मूल्य ६ हजार ९ सय ९० र एन्को एम-३१ को ४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।