उपत्यकाका सबै स्थानीय तह बन्द, सार्वजनिक यातायात र सडक व्यापार रोक्न सरकारसँग माग

उपत्यकाका सबै स्थानीय तह बन्द, सार्वजनिक यातायात र सडक व्यापार रोक्न सरकारसँग माग

उपत्यकाका सबै स्थानीय तह तीन साताका लागि बन्द हुने भएका छन्। उपत्यका मेयर फोरमको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

‘उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखी स्थानीय तहबाट अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाह तीन साताका लागि बन्द गर्ने निर्णय गरिएको छ’ बैठकको निर्णयमा छ।

बैठकले उपत्यकाका छिर्ने सबै नाकाबाट प्रवेशमा पूर्णरूपमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने, उपत्यकामा हुने सबै भेला, जुलुसलगायत गतिविधमा पूर्णरूपमा रोक्नुपर्ने, मास्क अनिवार्य र मास्क नलगाउनेलाई कारबाही गर्ने, व्यापारिक क्षेत्र तथा सपिङ मल, होटल, रेस्टुरेन्टमा हुने भीडभाड नियन्त्रण र स्वास्थ्य मापदण्डको पालना गराउने र नगरे कारबाही गर्नेलगायत निर्णय पनि गरेको छ। 

त्यस्तै उपत्यकामा प्रवेश गरेका निर्माण मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरू बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ-बिहानमात्र सीमित गर्ने तथा निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत हुने व्यापारलाई भदौ १५ गतेसम्म रोक्न पनि सरकारसँग माग गरेको छ। 

त्यस्तै निर्वाध सञ्चालन भइरहेका उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गराउनुपर्ने माग पनि बैठकले गरेको छ। 

बैठकले सार्वजनिक यातायातलाई भदौ १५ सम्म सञ्चालन गर्न रोक लगाउन पनि माग गरेको छ। 


Leave a Reply

Your email address will not be published.