कालिमाटी तरकारी बजारमा कोरोना सर्दैन?

कालिमाटी तरकारी बजारमा कोरोना सर्दैन?

काँक्रो, लौका, करेला ३०…३०

भिन्डी, परवल ५०…५०

सस्तो सस्तो…

व्यापारीहरूको आ–आफ्नै सुरताल।

ग्राहक तान्न सस्तो–सस्तो अनि आउनुस्–आउनुस् भन्नैप-यो।

झट्ट हेर्दा लाग्छ छानोभित्र भन्दा बाहिर बसेर व्यापार गर्नेमा बढ्ता प्रतिस्पर्धा छ।

सबैले माल कटाउन चाहन्छन्।

सबैलाई आफ्नोमा ग्राहक आइदिए हुन्थ्यो भन्ने लाग्छ।

व्यापारी ठूलो–ठूलो स्वरमा तरकारीको मूल्य भन्छन्, ग्राहक बोलाउँछन्। 

तर, मास्क नलगाइकनै।

नाकको टुप्पो छोप्नुपर्ने मास्क पनि चिउँडोमुनि पु-याएका छन्।

ग्राहकले मास्क लगाएका छन्। 

तर, व्यापारी भने बेपरवाह छन्। 

तरकारी किन्न जानेले हेर्दा लाग्छ कालीमाटी तरकारी बजारमा कोरोना संक्रमणको जोखिम नै छैन।

लाग्छ, कालीमाटीका व्यापारी र सर्वसाधारणलाई कोरोनाले छुँदैन। 

उनीहरूलाई कोरोना भाइरसबारे थाहै छैन।

सोमबार साँझ आयोमेल टिम कालीमाटी फलफूल तथा तरकारी बजार पुग्दा यस्तै देखियो।

सबै आ–आफ्नै धुनमा मस्त छन्।

न व्यापारीले मास्कको उचित प्रयोग गरेका छन् न त्यहाँ बसेर गफ चुट्नेहरूले नै।

नाक छोप्नुपर्ने मास्क तल सारेका छन् अधिकांशले।

मास्क चिउँडोमा सीमित छ।

क्यामेरा तेस्र्याउँदा उनीहरूको हात मास्कसम्म पुग्न खोज्छ।

थोरै संयमित र सजग भएजस्तो गर्न खोज्छन्। 

तर, केही छिनपछि उस्तै। मास्क त चिउँडोमै।

तरकारी किन्न आएका एक अर्धबैंसेले त ‘यहाँ आएर फोटो खिच्ने टिभीमा देखाउने, भोलि यहाँ कोरोना छ भनेर बजार बन्द गराउने’ समेत भन्न भ्याए।

उनी फोटो नखिच्न भन्दै तरकारी लिएर बाहिरिए।

कालिमाटीमा तरकारी व्यापार गरिरहेका डब्लु लामा लगाएको मास्कसमेत चिउँडोमा राखेर तरकारी लिनुस् सस्तो–सस्तो भन्दै कराउँदै थिए।

हामी पुगेर कुराकानी गर्दा पनि उनले मास्कले नाक छोपेनन्। 

अर्थात् मास्क सही ठाउँमा लगाएनन्।

बरु भिडियो नबनाउन भन्न चाहिँ भ्याए।

यस्तो भीडभाड छ किन मास्क तल सारेर बसेको? भन्दा उनले बल्ल मास्क माथि सारे।

यतिभन्दा उनी केही बोेलेनन्। बरु व्यापार छैन, पहिलेको जस्तो ग्राहक नै छैन भन्ने गुनासो गरिरहे।

यस्तो भीडमा मास्क त लगाइरहनुपर्छ। लगाएको मास्क पनि किन चिउँडोमा सीमित गर्नुभएको भन्दा उनी हाँसेमात्र।

मानौ,ं उनलाई कोरोनाको कुनै डरै छैन।

उनी कोरोना संक्रमण भए पनि सजिलै पचाउँछन्।

उनीमात्रै होइन, उनी वरपर भएका अधिकांश व्यापारीले मास्क लगाएका छैनन्।

केहीबाहेक मास्क सबैको चिउँडोमा भने पक्कै छ, तर नाक छोपिएको छैन।

खुलमखुला बोलिरहेका छन्। तरकारी बेच्नुबाहेक अन्य केही सोचेका छैनन्।

कालिमाटी बजारका व्यापारी तथा केही सर्वसाधारणले क्यामेरा देख्दा भने मास्क लगाएको भान पारे।

कोही मास्क लगाउन तत्पर भइरहेका थिए भने कोही हाँसिरहे।

अर्का व्यापारी योगेन्द्रलाल दासको पनि त्यस्तै अवस्था छ। 

उनीसँग मास्क थियो, तर लगाएका भने थिएनन्।

अर्थात्, चिउँडोमा मास्क लगाएर ग्राहक खोजिरहेका थिए।

तरकारी छान्दै केलाउँदै गरिरहेका थिए।

हामी तरकारी किन्ने जसरी उनी नजिक गयौं तै पनि उनले मास्क लगाएनन्।

‘मान्छे छैनन्, ल्याएको तरकारी कटाउन सकिएको छैन,’ उनले गुनासो सुनाउन भ्याइहाले, ‘बासी कसैले किन्दैनन्, कुनै दिन तरकारी फाल्नुपर्छ।’ 

मेरो पछाडि क्यामेरा बोक्दै सहकर्मी सौरभ रानाभाट आएपछि उनले बल्ल मास्क सही ठाउँमा लगाए।

उनी फोटो आइहाल्छ कि भनेर झस्किए।

सामान्य तरकारीको भाउ सोध्दा कसैले मास्क लगाएनन्। तर, जब म फलानो–फलानो कामका लागि आएको हुँ भन्दा केही सजग बनेको जस्तो गरे।

यति बेपरवाह छ– कालिमाटी तरकारी बजार।

 


Leave a Reply

Your email address will not be published.