‘लकडाउन छैन भनेर लापरवाह नबनाैँ, संक्रमणकाे जाेखिम नै छ’

‘लकडाउन छैन भनेर लापरवाह नबनाैँ, संक्रमणकाे जाेखिम नै छ’

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणमै रहेको दावी गरेको छ। 

कोरोना संक्रमण समुदाय फैलिइसकेको र निन्त्रणबाहिर गइसकेका भन्ने ‘विश्लेषण’लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीले भने खण्डन गरेका छन्। 

‘परीक्षण गरेकामध्ये संक्रमण दर पनि कम छ, निमोनिया लगायतका लक्षण भएका व्यक्तिहरु अस्पतालमा भर्ना भएका दर बढी छैन’ आयोमेलसँग कुरा गर्दै डा.अधिकारीले भने ‘महामारी समुदायस्तरमा जाँदा संक्रमण दर, अस्पताल भर्ना हुने र मृत्युदरसमेत बढी हुनुपर्नेे हो।’

उनका अनुसार संक्रमण नियन्त्रणबाहिर गएको भए वा समुदायमा फैलिइसकेको भए परीक्षणकै अनुपातमा संक्रमितको संख्या हुनुपर्ने थियो। 

अहिले परीक्षण भइरहेको संख्यामध्ये करिब ४-५ प्रतिशतमा मात्रै संक्रमण पुष्टि हुँदै आएको छ। अधिकारीका अनुसार यो अनुपात बढेर १२ प्रतिशतभन्दा माथि संक्रमितको संख्या भएमा मात्रै त्यो समुदायमा फैलिएको वा ‘नियन्त्रण बाहिर’ भएको भन्न सकिन्छ। 

मन्त्रालयले नै यो समयमा संक्रमितको संख्या कम्तीमा ३९ हजार सम्म पुग्ने प्रक्षेपण गरेको थियो। तर, अहिलेसम्म त्योभन्दा कम नै छ। 
‘यो एकदमै नराम्रो अवस्था होइन, अहिलेको अवस्थालाई संक्रमण नियन्त्रण बाहिर गएको भन्न मिल्दैन’ डा. अधिकारीले आयोमेलसँग भने।

महामारीप्रति सर्वसाधारणको बुझाई गलत

सरकारले आम नागरिकको जनजीवन सहज पार्न र आर्थिक क्षेत्र चलायमान बनाउन भन्दै पूर्ण लकडाउनको अन्त्य गरेको थियो। 
तर, नागरिकले बुझेनन्। आम नागरिकलाई लाग्यो, अब कोरोना संक्रमणको खतरा छैन। 

‘अहिले जनजीवन सामान्य अवस्थाको जस्तो दिनचर्यामै फर्किन थालेको छ, यसैले गर्दा पनि संक्रमण झन् फैलिएको हो’, डा.अधिकारी भन्छन्,‘नागरिकको यही बुझाइ गलत भयो। अवस्था सामान्य होइन।’

पछिल्ला दिनमा सर्वसाधारणकै लापबाहीले संक्रमण बढ्दै गएको उनको तर्क छ। 

कोरोना कसरी सर्छ, कस्तो व्यक्तिबाट जोगिनुपर्छ, कसरी बच्नुपर्छ भन्ने जस्ता सामान्य ज्ञान लगभग आम नागरिकमा नभएको होइन। तर, त्यो व्यवहारमा छैन। 

उपचार तयारी

उपत्यकाभित्र संक्रमितको संख्या बढेको भन्दै उनल उपचारको रणनीति फेर्ने तयारी भइरहेको बताए। 
तर, सबै संक्रमितलाई अस्पतालमै लैजानुपर्छ भन्ने छैन। 

‘सामान्य लक्षण भएका लागि पनि घरमा सबै मापदण्ड पुग्छ भने स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा बस्नेसक्ने व्यवस्था गर्दै जानुपर्छ। जुन काम हामीले सुरु पनि गरिसकेका छौँ’ उनले भने। 

उनका अनुसार अहिले काठमाडौंजस्ता जनघनत्व धेरै भएको ठाउँमा ‘कोभिड’ का लागि तोकेका आइसोलेसन बेड, आइसियु, भेन्टिलेटरमा बढी प्रेसर पर्दै गएका छ। 

संक्रमित घरैमा बस्नका लागि मापदण्ड नपुगेको अवस्थामा सरकारले तोकेका केही आइसोलेसन सेन्टरमा लगेर राख्ने र लक्षण भएकाहरुलाई अस्पताल नै लगेर उपचार गर्ने रणनीति बनाएको उनले बताए। 

मन्त्रालयले निजी क्षेत्र अस्पताल र विभिन्न सार्वजानिक निकायमा बेड सहितका तालिम केन्द्रलाई यस्तो आइसोलेसन सेन्टर बनाउने तयारी गरेको छ।

अधिकारीका अनुसार निजी क्षेत्रका अस्पताललाई हब अस्पतालको मातहातमा जनशक्ति, उपकरण, बेडहरु कसरी परिचालन गर्ने भनेर समेत छलफल भइरहेको छ। 

‘नीजि अस्पताल क्षमता के–कति छ भनेर परिचाहन गरेर राखेका छौं। ती, अस्पतालाई चाँडै नै सञ्चालनमा ल्याउछौँ’ डा. अधिकारीले भने।

अहिले कार्यरत स्वास्थ्य जनशक्तिमा पनि कोरोना संक्रमण भइरहेको छ। त्यसले गर्दा कतिपय ठाउँमा जनशक्ति अभाव पनि देखिएको छ। 

त्यसका लागि मन्त्रालयल मेडिकल काउन्सिल, नर्सिङ र स्वास्थ्य व्यवसायी परिषदसँग मिलेर थप स्वास्थ्यकर्मीको परिचालन गर्नेबारेमा पनि छलफल गरिरहेको उनले जानकारी दिए। 


Leave a Reply

Your email address will not be published.