सभापति देउवाविरुद्ध खनिए कांग्रेसका नेता गुरुङ

सभापति देउवाविरुद्ध खनिए कांग्रेसका नेता गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवाका पछिल्ला कामकारबाही विधि र लोकतान्त्रिक पद्धतिविरुद्ध भएको  आराेप लगाएका  छन्।

‘महाधिवेशनको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्दथ्यो, तर उहाँ (देउवा) ले थपिएको म्यादसहित महाधिवेशन आउन ६ महिना बाँकी रहँदा मनोनयन गरिरहनु भएको छ,’ मंगलबार आयोमेलसँग नेता गुरूङले भने, ‘यो विधि, लोकतन्त्र र प्रजातन्त्रविरुद्धको कामकारबाही हो। लोकतान्त्रिक पद्धतिमा पर्दैन।’

देउवाले १५ वटा विभागमा ६ सय ६८ जना मनोनयन गरिसकेका छन्। उनले आइतबार र सोमबार पनि विभिन्न विभागमा पदाधिकारी मनोनयन गरेका थिए।

विभाग गठन गरी पदाधिकारी मनोयन गर्ने अधिकार सभापतिलाई रहे पनि महाधिवेशन आउन ६ महिना मात्र बाँकी छँदा मनोनयन गरेर देउवाले विधान कुल्चिएको गुरूङको ठम्याइ छ।  ‘नेतृत्व मूर्ति होइन, नेतृत्वले मर्यादा कायम गर्नुपर्छ। विधिको शासन नै लोकतन्त्र हो। विधि कुल्चिन थालेपछि लोकतन्त्र हराउँछ,’ उनले भने।

देउवा निकटका नेताहरूलक्षित गरी गुरुङले ‘उहाँ (देउवा) लाई अहिले पदाधिकारी मनोयन गर्नु विधिनविपरीत हो भनेर साथीहरूले ज्ञान दिनुभएन कि के हो?’ भनेर टिप्पणी गरे।

गुरुङले मनोनयनमा परेका नेताहरूका बारेमा कुनै गुनासो नभएको बताए। ‘मनोनयनमा परेका साथीहरू याेग्य हुनुहुन्छ, उहाँहरूका बारेमा कुनै टिप्पणी छैन। तर, मनोनयन प्रक्रिया विधिसम्मत् भएन भन्ने हो,’ उनले भने।

नेता गुरुङले ‘लोकतन्त्र, प्रजातन्त्र र विधिको शासनका लागि लडेको व्यक्ति अहिले पार्टीमा किन बर्खीलाप गए’ भनेर आश्चर्य प्रकट गरे। ‘उहाँ पञ्चायतविरुद्ध लड्नु भयो। लोकतन्त्र र विधिको शासनका लागि सडकमा आउनु भयो। तर, पार्टीभित्र विधिको शासनविरुद्ध जानु भयो। यो लोकतान्त्रिक पद्धतिभित्र पर्दैन,’ उनले भने।

देउवा आगामी फागुनमा तय भएको महाधिवेशनको परीणाम आफ्नो पोल्टामा पार्न ‘पद बाँडिरहेको’ आरोप पार्टीभित्रबाटै लाग्ने गरेको छ। 

नेता गुरूङ कांग्रेस जित र हारको दोसाँधमा रहेका बेला को व्यक्ति आउँछ भनेर अर्थ नराख्ने बताउँछन्।

‘लोकतान्त्रिक मूल्य मान्यताको पार्टीको नेतृत्व नै लोकतन्त्र र विधिविपरीत गइरहेका बेला लोकतन्त्रमाथि प्रश्न उठ्छ नै,’ उनले भने, ‘कांग्रेस जित र हारको दोसाँधमा रहेका बेला व्यक्तिको जित र हारको कुनै अर्थ रहँदैन।’


Leave a Reply

Your email address will not be published.