सर्वसाधारणको स्वाब प्राथमिकतामा नपरेपछि मेयरले लेखे यस्तो स्टाटस… 

सर्वसाधारणको स्वाब प्राथमिकतामा नपरेपछि मेयरले लेखे यस्तो स्टाटस… 

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले फेसबुकमा एउटा स्टाटस पोस्ट गरे। त्यसमा भनिएको छ ‘पिसिआरको रिपोर्ट चाँडो गराइदिनुुपर्ने भनेर क-कसलाई चाकडी गर्नुपर्ने हो ? हरेक कुरामा असहयोग, यो त अत्ति भो।’ 

उनको स्टाटस प्रदेश सरकारप्रति लक्षित थियो। यहाँका मन्त्री, मन्त्रालयका कर्मचारी र न्यायाधीशको पिसिआर रिपोर्ट २४ घण्टाभित्रै आए पनि साउन २२ गते स्वाब दिएका नगरपालिकाका जनताको नतिजा अहिलेसम्म नआएपछि मेयरले आक्रोशित भएर उक्त कुरा लेखेका थिए। 

पछिल्लो समय विराटनगरको एकै वडामा ५० भन्दाबढी संक्रमित फेला परेपछि नगर एक्लैले कोरोना नियन्त्रण तथा व्यवस्थापनको काम गर्न नसक्ने निष्कर्ष निकालेको थियो।

विराटनगरमा प्रादेशिक प्रयोगशाला र कोसी अस्पतालमा गरी दुुई पिसिआर ल्याब सञ्चालनमा छन्। तर, यी दुवै ल्याबमा पठाइएका नमुनाको नतिजा ५ दिनसम्म नआउँदा स्वाब दिएका नागरिक निराश हुँदै त्यो रिस महानगरलाई पोखिरहेका छन्। 

यसैको बदलास्वरुप मेयर पराजुलीले प्रदेश सरकारप्रति खुलेरै आक्रोश व्यक्त गरे। उनले जनता कोरोनाले आक्रान्त भइरहँदा सरकारका जिम्मेवार व्यक्ति काठमाडौं भएर पनि समन्वय नगरेको गुुनासो गरेका छन्।

‘संघारमै रहेको प्रदेश सरकारले विराटनगरको यो भयावह अवस्था सम्हाल्न सहयोग पुर्याउँछ भन्ने विश्वास थियो,’ पराजुलीले भने, ‘कोरोना रोकथाम र व्यवस्थापनका लागि व्यक्तिपिच्छे सरकार गुहार्दा पनि भनेअनुसार सहयोग पाइएन। बरु उल्टै असहयोग भयो।’ 

कोरोना संक्रमणका हिसाबले विराटनगर हटस्पट बनेको भन्दै पहिले ठूला पहुँचवाला मान्छेभन्दा पनि गरिब जनताको स्वाब टेस्टलाई प्राथमिकतामा राख्नुुपर्ने उनको तर्क छ। ‘ठूला मान्छे त कम्तीमा सचेत हुन्छन्, अलि जोगिएरै हिँडेका हुन्छन्, यहाँ दिनहुँ भीडभाडमा हिँडिरहनेको स्वाब नलिए भूसको आगोझैं कोरोना सल्किने डर भइसक्यो,’ उनले भने। 

मेयर पराजुलीले फेसबुकमा लेखिएको कुरालाई सामान्य मानवीय स्वभावको अभिव्यक्ति ठानेका छन्। उनले सामान्य तहका जनताको स्वाब प्राथमिकतामा नपरेपछि स्टाटस लेखेको जिकिर गरे। 

हालसम्म विराटनगरमा ३ सय १६ संक्रमित मध्ये ६९ जना कोरोनामुक्त भएका छन्। 


Leave a Reply

Your email address will not be published.