साम्य भएन हल्दीबारी गाउँपालिकाको विवाद

साम्य भएन हल्दीबारी गाउँपालिकाको विवाद

आपसी भानाभन, घम्साघम्सी, झडप र एकाअर्कालाई दोष लगाउँदै कानुनी बाटो रोजेका झापा हल्दीबारी गाउँपालिकाका दुई पक्ष त्यसबाट पछि हटे पनि मिलनविन्दुमा भने अझै पुग्न सकेका छैनन्। जसले गाउँसभा अनिश्चित बनेको छ।

गाउँपालिका सञ्चालनमा अन्योल बढेको छ। गाउँसभा सञ्चालन कसरी गर्ने  भन्ने विषयमा सहमति नजुट्दा पुनः  डाकिएको गाउँसभा सुरु नहुँदै स्थगित  भयो।

हल्दीबारी गाउँपालिकाको सातौं गाउँसभाको विवाद अध्यक्ष र उपाध्यक्षको आफ्नै अडानका कारण मिल्न नसकेको हो।

सातौं गाउँसभाको बैठकमा उपाध्यक्ष डम्बरबहादुर गिरीले कानुन विपरीत काम गरेकाले सच्चिन अध्यक्ष रवीन्द्र लिङदेनले आग्रह गरेका थिए।

तर, बहुमतमा रहेका उपाध्यक्षले पूर्ववत् अडान राखेपछि गाउँसभाको  दोस्रो बैठक सञ्चालन हुन नसकेको हो।

गणपूरक संख्या नपुगेको भन्दै सोमबार हुने भनेको गाउँसभा बैठक सुरु हुनुअगावै अध्यक्ष लिङदेनले स्थगित गरिदिए। लगत्तै  उपाध्यक्ष गिरीले जनताको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन्।

अध्यक्ष्र लिङदेनले आफूमाथि सांघातिक आक्रमण गरी सातौं गाउँसभाको पहिलो बैठकबाट लखेटिएको  र  कानुनमा अध्यक्षले गर्न पाउने बजेट प्रमाणीकरणको अधिकार दुरूप्रयोग गरेकाले उपाध्यक्ष गिरीले सच्चिनुपर्ने जिकिर अध्यक्ष लिङ्देनको  छ।

उपाध्यक्ष  गिरीले अध्यक्ष नभएका बेला कानुनले उपाध्यक्षलाई बैठकको अध्यक्षता गर्ने  अधिकार दिएको प्रष्ट पार्दै बहुमतले गरेको निर्णय कसैको जिद्दीमा नउल्टने दाबी गर्दै आएका छन्।

हल्दीबारी ४ का वडाध्यक्ष होम चुडालले अध्यक्ष र उपाध्यक्षका कारण हलो अड्काएर गोरू चुट्ने काम भइरहेको बताए। 
उनले दुवै पक्षलाई आफ्ना कमजोरी सच्याएर अविलम्ब गाउँसभा सम्पन्न गर्न सुझाएका छन्।

जुँगाको लडाइँका लागि नागरिकका काम रोकेर रमिता देखाइनु विडम्बना भन्दै वडाध्यक्ष चुडालले जनताका समस्या हल गर्न वडाबाटै काम थाल्ने चेतावनी दिए।

हल्दीबारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटा अध्यक्ष आफैँले बोलाएको बैठक सुरु नै नगरी बहाना बनाएर स्थगन गर्नु बहुमतको अपमान भएको तर्क गर्छन्।

उपाध्यक्ष सापकोटाले अध्यक्षले पदीय हैसियत र गरिमा जोगाउन असफल हुँदा नागरिकले हैरानी खप्नुपरेको आरोप लगाए।
नमुना योजना ल्याएर गत वर्षसम्म चर्चामा रहेको झापाको हल्दीबारी गाउँपालिका यो वर्ष विवादमा चुर्लुम्म डुबेको छ। 

आर्थिक वर्ष०७७/७८ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा अध्यक्ष लिङ्देन र उपाध्यक्ष गिरीको समूहबीच विवाद, तोडफोड र कुटाकुट भएको थियो।झडपमा अध्यक्ष लिङ्देनसहित पाँचजना घाइते भएका थिए।

कार्यालयको टेबुल, झ्याल र ढोकालगायतको भौतिक सम्पत्तिमा क्षति पुगेको थियो। 

त्यसबेला अध्यक्ष लिङ्देन समूह कुटपिट र उपाध्यक्ष गिरी समूहले सार्वजनिक सम्पत्ति तोडफोडको उजुरी जिल्ला प्रहरीमा दिएका थिए। 

सो मुद्दा  ढिसमिस पारेर गाउँसभा गर्ने मिति तोकेका दुवै पक्ष फेरि आ-आफ्नो अडानमा फर्केका हुन्। विवादका कारण चालु आर्थिक वर्षको गाउँपालिकाको कामकाज ठप्प भएको छ।

असार १० गते डाकिएको हल्दीबारीको सातौं गाउँसभा दुवै पक्षको अहमताका कारण विवाद भएको थियो। दुवै पक्षको पुरानै अडानका कारण गाउँसभाको दोस्रो बैठक पनि स्थगित भएको छ।

पहिलो बैठकको प्रमाणीकरणका बारेमा गाउँपालिकाका अध्यक्ष लिङदेन र उपाध्यक्ष गिरीबीच कुरा नमिलिसकेका कारण दोस्रो बैठक स्थगित भएको हो।

सतहमा यो विवाद देखिए पनि अध्यक्षको कानुनी अधिकार  र उपाध्यक्षको बहुमतको तागतले बढी स्थान पाएको छ। त्यो भन्दा बढीचाहिँ आगामी स्थानीय तहमा कसको पल्ला भारी बनाउने भन्ने गुह्य कारण विवादको जड भएको जानकारहरू बताउँछन्।


Leave a Reply

Your email address will not be published.