एप्पल डेलीः कारबाहीबाट डगमगाएन हङकङको पत्रिका

एप्पल डेलीः कारबाहीबाट डगमगाएन हङकङको पत्रिका

हङकङको एप्पल डेली पत्रिकाले बेइजिङले लगाएको विवादास्पद सुरक्षा कानुनअन्तर्गत मालिक जिमी लाइको गिरफ्तारीविरुद्ध लडाइँ जारी राख्ने वाचा गरेको छ।

पत्रिकाले सोमबार सामाजिक सञ्जालमा हथकडी लगाइएका जिम्मीलाई समाचार कक्षबाट बाहिर लगिँदै गरिएको दृश्य प्रसारण गरेको थियो। करिब २ सय प्रहरी अधिकारीले पत्रिकाको कार्यालयमा छापा मारेका थिए।

लोकतन्त्र समर्थक जिम्मीसहित १० व्यक्तिलाई विदेशी सेनाहरूसँग मिलेमतो गरेको लगायतका आरोपमा पक्राउ गरिएको थियो। बेइजिङको बढ्दो दमनको विश्वव्यापी रूपमा निन्दा भएको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले हङकङको स्वतन्त्रता चीनले हनन गरेको बताए।

मंगलबार पत्रिकाले आफ्नो प्रथम पृष्ठमा ‘एप्पल डेलीले लडाइँ जारी राख्नुपर्छ’ भन्ने शीर्षकसहित हथकडी लगाइएका जिम्मीको तस्बिर छापेको थियो। 

सहरका केही भागमा पत्रिका किन्न हङकङवासी बिहानको २ः३० बजेदेखि लाइन लागेका देखिन्थे। पत्रिका बिक्रेताले जिम्मीले स्थापना गरेको लोकप्रिय ट्याबलोइड केही समयमै बिक्री भएको बताए।

हङकङ र चीनको नेतृत्वबारेमा बेरोकटोक समाचार दिँदै आएको दैनिक एक लाख प्रति बिक्री हुने पत्रिका सोमबार ५ लाखभन्दा बढी छापिएको थियो।

बेइजिङको शीर्ष नेतृत्वको सिधै आलोचना गर्दै आएका जिमी नयाँ कानुनअन्तर्गत पक्राउ परेका सबैभन्दा उच्च व्यक्तित्व हुन्। उता बेइजिङले भने उनलाई एक देशद्रोहीको संज्ञा दिएको छ।

उनी पक्राउ परेको केही घण्टामै प्रख्यात युवा कार्यकर्ता एग्नेस चाउ र स्वतन्त्र पत्रकार विल्सन लीलाई पनि सोही कानुनअन्तर्गत पक्राउ गरिएको थियो।
तिनको गिरफ्तारी लगत्तै वासिङटन, लन्डन र संयुक्त राष्ट्रसंघले हङकङको स्वतन्त्रतामाथिको आक्रमणप्रति तीव्र आलोचना गरे।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले ट्वीट गरे, ‘हङकङको निरंकुश राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत @JimmyLaiApple  लाई पक्राउ गरिएको खबरले म अत्यन्तै चिन्तित छु।’

‘सीसीपीले हङकङको स्वतन्त्रता हनन गरेको र त्यहाँका जनताको अधिकार खासेको पुष्टि हुन्छ,’ उनले लेखे।

यस्तै भावना अभिव्यक्त गर्दै बेलायतले धेरै हङकङवासीलाई नागरिकता प्रदान गर्ने आश्वासन दिएको छ। नयाँ कानुन लागू भएयता लन्डनले हङकङसँगको प्रत्यार्पण सन्धि स्थगित गर्ने चेतावनी दिएको थियो। 

‘यसले राष्ट्रिय सुरक्षा कानुन विपक्षलाई चुप लगाउने अभिप्रायले प्रयोग भइरहेको छ भन्ने थप प्रमाण दिएको छ,’ प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले रोयटर्ससँग भनेका थिए। ‘हङकङका अधिकारीले त्यहाँका जनताको अधिकार र स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ।’

हङकङको स्वतन्त्रतामाथि कडाइ गर्दै लाने उद्देश्यसाथ ल्याइएको विवादास्पद सुरक्षा कानुन लागू गरिएपछि सहरका उच्च तहका कार्यकर्ता विदेश पलायन हुन थालेका छन्।

बिबिसीसँग लन्डनबाट बोल्दै, लोकतन्त्र समर्थक नेथन लले भने, ‘निश्चित रूपमा ती गिरफ्तारी अमेरिकाले हङकङका अधिकारीमाथि लगाइएको प्रतिबन्धको प्रतिशोधमा गरिएका हुन्।’

यसअघि हङकङको राजनीतिक स्वतन्त्रता कटौती गरेको भन्दै अमेरिकाले सहरका मुख्य कार्यकारी क्यारी लामलगायत हङकङका ११ चिनियाँ अधिकारी र सहयोगीमाथि प्रतिबन्ध लगाएको थियो।

त्यसको केही दिनपछि बेइजिङले ११ अमेरिकी नागरिकविरुद्ध प्रतिबन्ध लगाएको थियो।

लले यसलाई ‘हङकङको स्वतन्त्रता समाप्त गर्ने’, हङकङवासीलाई मौन राख्ने र ठूला ‘डरको राजनीति’ गर्ने सबैभन्दा नयाँ चरणको रूपमा पनि वर्णन गरे।
-(बिबिसीबाट अनुवादित)


Leave a Reply

Your email address will not be published.